सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १८ बैशाख ।
म्याग्दीको बेनी नगरपालीका ९ स्थित गलेश्वर ठूलो सल्लेरी सामुदायीक वन क्षेत्रमा लागेको डडेलोले त्यहाँ रहेको सामुदायिक फर्नीचरमा आगोलागी भएको छ ।
बेनपा ९ र १० को ४२ हेक्टर क्षेत्रफलमा फैलीएको उक्त सामुदायीक वनमा शुक्रबार लागेको डडेलो फैलीएर नजिकै रहेको फर्नीचरमा आगोलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षत्ती भएको अनुमान गरिएको छ ।
सामुदायिक वन समूहद्धारा ठेक्कामा दिएर सञ्चालन गरिएको फर्नीचरमा रहेका तयारी फर्नीचरका सामाग्री, काठ, औजार लगायत गरि ५० लाख रुपैयाँ बराबरको क्षत्ती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उपभोक्ता, प्रहरी र नेपाली सेना जंगलमा लागेको आगो नियन्त्रणमा लिन खटिएको अवस्थामा जंगलको नजिकै रहेको फर्नीचरमा डडेलोको मुस्लो पसेर आगोलागी भएको थियो । उता डडेलोले पाईप पोलेपछि बेनपा १ सारेमारेमा सिचाईको समस्या भएको छ ।
ढोडेनीखोलाबाट सारेमारेको खेतबारीमा सिचाईको पानी ल्याउन प्रयोग भएको पाईप पोलीएपछि करिब ५० घरधुरी कृषक समस्यामा परेका हुन् । सारेमारे सामुदायीक वनमा शुक्रबार लागेको डडेलोले सिचाई आयोजनाको करिब ७० मिटर १३ ईन्चको पाईप जलेर नष्ट भएको छ ।
पाइप जलेपछि ५० घरधुरी कृषकले तिन सय रोपनी खेतमा लगाएको तरकारीखेतीमा सिचाईको समस्या भएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजेन्द्र सापकोटाले बताउनुभयो । डडेलोले सारेमारेको साथै कमेरेझ्याले र सालधारी सामुदायिक वनमा पनि क्षत्ती गरेको छ ।