ताजा समाचार:
Search

म्याग्दीमा दुई वटा खोप सेवा सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १६ बैशाख ।
जिल्ला स्वास्थ्य कार्यालयले म्याग्दीमा खोप सम्बन्धि नयाँ दुई वटा कार्यक्रम सञ्चालन गर्न लागेको छ । जापानिज ईन्सेफलाईटीस रोग बिरुद्धको र एचआईभि संक्रमित आमाबाट जन्मने बच्चामा एचआईभि सर्नबाट बचाउने (पिएमटीसीटी) खोप सेवा सुरु गर्न लागेको हो ।

बेनीमा बिहीबार आयोजित जिल्ला खोप समन्वय समितिको बैठकमा म्याग्दीमा सञ्चालन हुन लागेको नयाँ खोप कार्यक्रमको बारेमा राजनीतिक दल, विषयगत कार्यालय, संघ संस्था र सञ्चारकर्मीहरुलाई जानकारी गराइएको छ । म्याग्दी लगायतका पहाडी जिल्लामा पनि भेटिन थालेकाले यस वर्षदेखि सो रोग विरुद्धको खोप लगाउन लागिएको जिल्ला जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले जानकारी दिनुभयो ।

यही बैशाख २६ देखि जेठ ५ गते जिल्लाव्यापी अभियानको रुपमा एक देखि १५ वर्ष उमेर समूहका ३१ हजार ३०० जनालाई जापानिज ईन्सेफलाईटीस रोग विरुद्धको खोप लगाउने तयारी भएको छ । बैशाख २६ देखि जेठ ३ गतेसम्म बेनी नगरपालीका र बैशाख २८ देखि जेठ ५ गतेसम्म गाबिसहरुमा खोप अभियान सञ्चालन गरिने खोप अधिकृत गंगाधर पण्डीतले जानकारी दिनुभयो ।helth photo

उहाँका अनुसार आगामी साउन महिनादेखि सबै स्वास्थ्य चौकीहरुबाट नियमित रुपमा जापानिस ईन्सेफलाईटिस विरुद्धको खोप लगाउने लक्ष्य रहेको छ । यसैगरी जिल्ला अस्पताल लगायत म्याग्दीका २४ वटा स्वास्थ्य संस्थामार्फत एचआईभि संक्रमित आमाबाट जन्मने बच्चालाई संक्रमण हुनबाट बचाउने (पिएमटीसीटी) सेवा पनि सुरु गर्न लागिएको छ ।
जिल्ला अस्पतालबाट हाल १४ जना पुरुष, १३ जना महिला र तिन जना बालबालीकाले एचआईभी संक्रमितले प्रयोग गर्ने एआभी औषधी सेवन गरिरहेका छन् । एचआईभि संक्रमणको उपचारमा पहुँच बढाउने र संक्रमण हुने दर घटाउनका लागि पिएमटीसीटी सेवालाई ग्रामिण तहका स्वास्थ्य संस्थामा विस्तार गर्न लागिएको जनस्वास्थ्य अधिकृत चौधरीले बताउनुभयो ।