सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ बैशाख ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको पाँचौ साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ ।
साधारणसभाले शाखा सचिव गोरखनाथ सुवेदीको प्रगति र कोषाध्यक्ष मालती खत्रीको आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै आसन्न केन्द्रिय साधारणसभामा शाखाको तर्फबाट महासंघको शुद्धीकरणका लागि सदस्यता नविकरण सम्बन्धि व्यवस्था कडाइका साथ लागु हुनुपर्ने र सदस्यता प्राप्त गर्न परिक्षा उतिर्ण गर्नुपर्ने प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।
यसैगरी संस्थाको भवन निर्माणका लागि जग्गाको पहिचानका लागि अध्यक्ष सुरज केसीको नेतृत्वमा सात सदस्यीय उपसमिति गठन भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्दै महासंघका केन्द्रिय सदस्य रुद्रप्रसाद भट्टले पत्रकार महासंघलाई समावेशी बनाउदै संबिधानले परिकल्पना गरेअनुसारको सांगठनिक संरचना तयार गर्ने आसन्न साधारणसभाले बिधान संसोधन गर्ने जानकारी गराउनुभयो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जिल्लाको विकास, शुषासन र जवाफदेहीताको विकासका लागि पत्रकारीता क्षेत्रबाट सकारात्मक वातावरण बनाउनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका सचिव हरिकुमार श्रेष्ठ, एमालेका सचिव बालकृष्ण सुवेदी, एकिकृत नेकपा माओवादीका जिल्ला सहइञ्चार्ज गोविन्द पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवी विश्वकर्मा र राप्रपाका दिलीपकुमार शेरचनले पत्रकारहरुबीचको एकतामा जोड दिदै पेशामा निश्पक्षता अपनाउन सुझाव दिनुभयो ।
प्रेस चौतारीका अध्यक्ष मालती खत्री, नेपाल प्रेस युनियनका सभापति गोपाल छन्त्याल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष कमल खत्री, नागरीक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठ, संस्थापक शाखा सचिव तारानाथ शर्माले शाखाको संस्थागत विकासका लागि कार्ययोजना सहित अघि बढाउनुपर्ने बिचार व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष सुरज केसीको अध्यक्षता, सचिव गोरखनाथ सुवेदीको सञ्चालन र उपाध्यक्ष ठाकुरप्रसाद आचार्यको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको छ ।