सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १४ बैशाख ।
बागलुङ र म्याग्दी जिल्लाको सदरमुकाम जोड्ने बागलुङ–बेनी सडकमा सञ्चालन हुने सार्वजनीक सवारी धनीहरुले यात्रुबाट तोकीएको भन्दा बढी भाडा लिने गरेको सर्वसाधारणले गुनासो गरेका छन् ।
१७ किलोमिटर दुरीको बागलुङ बेनी सडकको करिब आधा भाग बागलुङदेखि रत्नेचौरसम्मको सडक कालोपत्रे भएपनि यातायात व्यवसायीले पुरानै भाडादर असुल गर्दा यात्रुहरु मर्कामा परेका छन् । कालोपत्रे विस्तार भएपछि एक वर्षअघि भाडादर समायोजन भएपनि व्यवसायीले पुरानै भाडा तिर्न बाध्य बनाएको रत्नेचौरका बासिन्दा खगराज शर्माले जानकारी गराउनुभयो ।
म्याग्दी जिप तथा बस सञ्चालक समितिले भने बागलुङ बेनी रुटमा प्रतिव्यक्ति भाडादर ८५ रुपैयाँ निर्धारण गरिएको जनाएको छ । तोकीएको भन्दा बढी भाडा लिएको यात्रुले गुनासो गरेको अवस्थामा सम्बन्धित व्यवसायीलाई कारबाही गरिने समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले बताउनुभयो । उक्त सडकमा म्याग्दी समितिका साथै धौलागिरी अञ्चल जिप लगायतका अन्य समितिका गाडीहरुले पनि सेवा दिने गरेका छन् ।