सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १४ बैशाख ।
म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा पछिल्लो एक वर्षयता सात करोड भन्दा बढीको लगानीमा तिन वटा सुबिधा सम्पन्न होटल खुलेका छन् ।
भौगोलिक रुपमा बिकट उक्त स्थानमा पक्कि संरचना सहित निर्माण भएका होटलमा आधुनिक सुबिधा उपलब्ध छ । खान र बस्नको अतिरिक्त तिब्र गतिको ईन्टरनेट, एट्याच बाथरुम, तातो पानीले स्नान गर्ने लगायत सहरी क्षेत्रमा पाइने सुबिधा सहितको होटल खुलेका हुन् ।
यस वर्ष खुलेका ‘सुपर भ्यू’, ‘धौलागिरी’ र ‘पिस एक्सीलेन्ट’ होटल निर्माणका लागि साढे सात करोड रुपैयाँ भन्दा बढी लगानी भएको छ । २२ वटा कोठा भएको सुपर भ्यू होटलका सञ्चालक जुनबहादुर पुनले होटल निर्माणमा दुई करोड ५० लाख रुपैया भन्दा बढी लगानी भएको बताउनुभयो ।
पक्कि भवनको संरचनामा सञ्चालन गरिएको धौलागिरी र पिस एक्सीलेन्ट होटल निर्माणमा पनि कम्तीमा साढे दुई करोड लगानी भएको सञ्चालकले बताएका छन् । आन्तरीक तथा बाह्य पर्यटकको चाप र उनिहरुको चाहना अनुसार सुबिधायुक्त होटल निर्माण गरिएको २५ कोठा क्षमत्ता भएको धौलागिरी होटलका सञ्चालक ओम शेरपुञ्जाले बताउनुभयो ।
कच्चि सडक, खच्चर र भरिया मार्फत निर्माण सामाग्री ढुवानी गर्नुपर्दा भवन निर्माणमा लागत बढी भएको पिस एक्सीलेन्ट होटलका सञ्चालक चन्द्रबहादुर बुद्धुजाले बताउनुभयो । उक्त होटलमा पनि २५ वटा कोठा रहेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख गन्तब्य मानिने घोडेपानीमा हिमशृङखला, सुर्योदय, गुराँसे जंगल, मगर संस्कृती, पहाडी सौन्दर्यता र पदयात्रामा रमाउनका लागि पर्यटक आउने गर्छन् ।
हाल २३ वटा सुबिधायुक्त होटल रहेको घोडेपानीमा एक दिनमा पाँच सय जना पर्यटक बास बस्न सक्ने क्षमत्ता रहेको छ । ति होटलहरुमा ५० करोड भन्दा बढीको लगानी रहेको छ । घोडेपानीमा थप दुई वटा सुबिधायुक्त होटल निर्माणाधिन अवस्थामा रहेका छन् ।