पर्यटकीय गन्तब्य बन्दै प्यारी बाराही ताल

विकल्प न्यूज/बेनी
जेठ २ गते ।


अन्नपूर्ण गाउँपालिका ७ स्थित प्यारी बाराही ताल पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । पर्यटकीय स्थल घोडेपानी देखि ताल सम्म साइकल र घोडा मार्ग निर्माण गरेपछि पर्यटकको आकर्षण बढेको हो । पर्यटकलाई थप आकर्षीत गर्न घोडेपानी–प्यारीबाराही ताल हुँदै ठूलाखर्क देखि पर्यटकीय स्थल मोहोरे डाँडा जान गुराँस पदमार्गको परिकल्पना गरिएको छ ।

घोडेपानी र पुनहिलको भ्रमणमा पुगेका पर्यटकहरुले साइकल मार्फत तालको अवलोकन गर्न पुग्ने गरेको घोडेपानीका स्थानीय देवेन्द्र गर्बुजा पुनले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ताल निकै आकर्षक छ । घोडेपानी पुलहिलको भ्रमणमा आएका पर्यटकहरु तालमा पुगेर थप आनन्द लिन्छन् ।’’गुराँसको जंगलभित्र पृष्ठभूमिमा हिमाल हेर्दै साइकलमा यात्रा गर्न पाउनु यहाँको आकर्षण हो । घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने तीन÷तीन किलोमिटर दूरीको डेढ मिटर चौडाइ भएको घोडा र साइकल मार्ग निर्माण गरिएको छ ।

तालको संरक्षणका लागि वरपर भौतिक संरचना निर्माण गरिएको छ । घोडेपानी–प्यारीबाराही ताल जोड्ने साइकल मार्गमा चरा अवलोकन स्थल बनाइएको गर्बुजा पुनले बताउनुभयो । घोडेपानीबाट पर्यटक घोडा र साइकल दुवै चढेर प्यारी बाराही ताल जान तथा आउन सक्छन् । जंगलको बीचमा रहेको प्यारी बाराही तालको धार्मिक तथा पर्यटकीय सम्भावना छ । तालमा हिमालको छायाँ देखिन्छ ।

तालको संरक्षण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न वडाले पहल गरेको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानका वडाध्यक्ष मइलन पुनले बताउनुभयो । जनैपूर्णिमा पर्वमा यहाँ पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ । करिब २०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा गोलो आकारमा फैलिएको ताल आकर्षक छ । तालमा खस्ने पात चराले टिपेर फाल्ने गरेको स्थानीयवासी बताउँछन् ।