बेगखोलामा पक्की पुल निर्माण तीव्र

ठाकुरप्रसाद आचार्य/बेनी
जेठ २ गते ।

ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अलपत्र परेका कतिपय योजनाहरु छन् । म्याग्दीमा पनि ठूला योजनाहरु यसैको सिकार भएका छन् । तर कतिपय योजनाहरु भने ठेकेदारले सम्झौता मिति अगावै निर्माण सक्नेगरी धमाधम काम भइरहेका छन् । म्याग्दीमा निर्माणधिन एउटा पुल सम्झौता मिति भन्दा ६ महिना पहिलानै सक्ने गरी निर्माणको काम भइरहेको छ ।

राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको बेगखोलामा निर्माणधिन मोटरेबल पुल ठेक्का सझौता अगावै निर्माण सम्पन्न गर्नेगरी तिव्र पारिएको छ ।

सडक विभाग अन्तर्गत रहेको पुल महाशाखा काठमाण्डौले रघुगंगा गाउँपालिका १ बेगखोलामा ७० मिटर लामो र ११ मिटर चौढाई भएको डबल स्पामको पुल निर्माणका लागि बीओकेआई\ हिमालयन जेभीलेसँग भ्याटसहित ८ करोड ३० लाख रुपियाँमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो ।

पुल निर्माणका लागि सम्झौता गरेसँगै निर्माण कम्पनीले योजनास्थलमा मजदुर र उपकरण परिचालन गरेर निर्माण कार्यलाई तिव्रता दिएको थियो । योजनाको अनुगमन र सुपरिवेक्षणको जिम्मा पाएको पुल सेक्टर पोखराका इन्जिनियर आशीक रिजालले अहिले सम्म योजनाको ८५ प्रतिशत भौतिक प्रगति हाँसिल भएको छ । पुल निर्माणको यहि गति कायम रहे आगमी असोज महिनाभित्रै पुल निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो ।

पुलको एउटा स्ल्याप ढलान भइसकेको र अर्कोको एकहप्ताभित्र ढलान गर्नेगरी तयारी गरिएको उहाँले बताउनुभयो । पुलको ढलान सकिएपछि वाँकी रहेको वारीपारीको सडक बनाउने,ग्यावियन झाली लगाउने र फिनिसिङ गर्ने काम असोजभित्र सकिने उहाँले जानकारी दिनुभयो । आगमी २०८० चैत २८ गतेभित्र योजना सम्पन्न सम्झौतामा उल्लेख भएतापनि सम्झौता अगावै पुल निर्माण गर्नेगरी कार्यालय जुटेको उहाँले बताउनुभयो ।

बेगखोलामा पुल नहुँदा वर्षातका समयमा सवारीसाधनहरु आवतजावतमा निकै समस्या भोग्नुपरेको छ । २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा रहेमो बेलिव्रिज र झोलुङ्गे बाढीले बगाएको थियो । खोलामा पक्की पुल नहुँदा म्याग्दीको उत्तरी भेगका स्थानीय र मुस्ताङको भ्रमणमा आउने पर्यटक,तिर्थयात्री र सर्वसाधारणहरुले वर्षातका समयमा आउने बाढीका कारण विगत ६ वर्ष देखिे सास्ती भोग्दै आएका छन् ।