ज्यामरुककोटका महिला भन्छन् ः ‘हाम्रो सहकारी हामी सुरक्षित गर्छौ ’

म्याग्दी, २९ बैशाख ।


म्याग्दीको बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटका महिलाहरुले आफुहरुले सञ्चालन गरेको सहकारी आफुहरुले नै सुरक्षित रुपमा सञ्चालन गर्दै आएको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रविधिक सहयोगमा ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको २ दिने सहकारी शिक्षा तालिमका सहभागी महिलाहरु यस्तो बताएका हुन् ।

देशका विभिन्न ठाउँमा ठुलो ठुलो कारोबार गर्ने सहकारीहरुले वचत फिर्ता गर्न नसकेका समाचारहरुको प्रभाव गाउँघरमा समेत पर्न थालेको चर्चा गर्दै उनीहरुले आफुहरुले चलाएको सहकारीमा कुनै समस्या नभएको र आगामी दिनमा पनि समस्या आउन नदिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
अन्यत्र यस्तो भयो, उस्तो भयो, हाम्रोमा के हुन्छ ? भन्ने आशंका व्यक्त गर्ने शेयर सदस्यहरुलाई समेत उनीहरुले निर्धक्क भएर कारोबार गर्न आव्हान गरेका छन् ।
६ जना दिदी बहिनी संगठित भएर सहकारी चलाएका छौ, मासिक २५ रुपैयाँ संकलन गरेर शुरु भएको संस्थामा यतिबेला ५० लाख शेयर रकम, १ करोड ४५ लाख वचत रकम र २ करोड ऋण लगानी छ, संस्थाका अध्यक्ष विष्णु थापाले भन्नुभयो, हामीले संस्थामा जम्मा भएको रकम ३ सय जना दिदी बहिनीहरुलाई ऋण लगानी गरेका छौ, सदस्यबाट संकलन गरेको वचत र शेयर रकम सदस्यहरुमा नै लगानी भएकाले संस्थामा समस्या आउदैन, सबै ढुक्क हुनुहोस् ।

सहकारीमा गैर सदस्य समेतबाट रकम संकलन गर्ने र सञ्चालक लगायत सिमित व्यक्तिहरुले रकम चलाउने गरेका कारण केही सहकारीहरुमा आएको समस्याले आम जनतामा नै सहकारीप्रति आशंका देखिएको भन्दै अध्यक्ष थापाले सहकारीको समस्या पहिचान गर्ने, समस्या परेमा सहयोग गर्ने जिम्मेवारी शेयर सदस्यहरुको भएकाले सहकारी क्षेत्रमा आएको समस्यालाई समाधान गर्नका लागि सदस्यहरुको जागरुकता बढाउनु पर्नेमा जोड दिनुभयो ।

संस्थाका सचिव उमा शर्माले सहकारीप्रति देखिदै गएको अविश्वास हटाएर सहकारीलाई थप व्यवस्थित र प्रभावकारी रुमपा सञ्चालनका लागि सदस्य जागरण अभियान शुरु गरिएको जानकारी दिनुभयो ।

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको दिगोपना र प्रभावकारीताका लागि सदस्यहरुलाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो ।

शहरी क्षेत्रमा सञ्चालनमा रहेका केही सहकारीहरुको व्यवस्थापनमा कमजोरी, सिमित व्यक्तिहरुको गलत क्रियाकलापका कारण आज आम समुदायमा सहकारीप्रति आशंका छ, जिसीले भन्नुभयो,–‘सहकारीप्रतिको आशंका मेटाउन तथा निर्धक्क भएर सहकारीमा कारोबार गर्ने वातावरण बनाउनका लागि सबै सहकारीहरुले सदस्यलाई सचेत र जागरुक बनाउनु पर्छ ।’

कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्य कृष्ण कुमारी कार्की, सञ्चालक सपना क्षेत्री र पवित्रा कार्की लगायतले सहकारीमा सदस्यहरुको भूमिका, काम कर्तव्य र अधिकारका बारेमा सचेतना आवश्यक रहेको बताउनु भएको थियो ।

संस्थाका शेयर सदस्यहरुलाई सहकारीको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनुका साथै सहकारीमा देखिएका समस्या समाधानमा सदस्यहरुको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको सचिव शर्माले जानकारी दिनुभयो । बेनी नगरपालिका वडा नं. २ कार्यक्षेत्र रहेको संस्थाले ६ सय जना शेयर सदस्यसंग मासिक वचत संकलन लगायत सदस्यहरुको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।