ताजा समाचार:
Search

राजदूत रेको घोडेपानी भ्रमणको रहस्य खुल्दै

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,बैशाख १३ गते ।
नेपालका लागि भारतीय राजदुत रणजित रेले गोप्य रुपमा दुई दिने म्याग्दी भ्रमण सकेर फर्कीएका छन् । पोखराबाट शुक्रबार बिहान १०.३० बजे म्याग्दी सदरमुकाम बेनी भित्रिएका भारत सरकारको सहसचिव सरहका कर्मचारी रहेका राजदुत रेको म्याग्दी भ्रमण जति गोप्य रह्यो त्यतीनै यसले राजनीतिक, प्रशासनीक, सुरक्षा र कुटनीतिक तरंग पैदा गरेको छ ।IMG_8750

एकाथरीले राजदुत रेको भ्रमणलाई सामान्य मानेका छन भने अर्काथरीले शंकाको रुपमा हेरेका छन् । कुटनीतिक नियोगका उच्च अधिकारीले पर्यटकीय क्षेत्रको भ्रमण गर्दा पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको मानिन्छ । सेवानिवृत्त भारतीय सैनीकहरुले राजदुतको भ्रमणसंगै विकासमा सहयोग पाउने अपेक्षा पनि गरेका छन् ।

अर्कोतर्फ पदयात्रा र भुपुहरुसंगको भेटघाटको उद्देश्य राखिएको भनेर दावी गरीएको भ्रमणका क्रममा राजदुतको टोलीले असम्बन्धित तिब्बती शरणार्थीहरुसंग सापिप्यता बढाउनु र उनिहरुका कुरालाई महत्व दिनुलाई कुटनीतिक हिसावले अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।Ghodapani ma Tibati sanga kura gardai (1)

मधेश आन्दोलनलाई अप्रत्यक्ष रुपमा साथ दिएको भारतले पछिल्लो समय नेपालका शिर्षस्थ व्यक्तित्वहरुलाई भ्रमणमा बोलाएर चिसीएको सम्बन्ध सुधार गर्न खोजीरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पछि अहिले सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका नवनिर्वाचीत सभापति शेरबहादुर देउवा अहिले भारत भ्रमणमा छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको मिती तय भैसकेको छ भने सत्ता साझेदार एकिकृत माओवादीका अध्यक्ष प्रचण्डलाई पनि भारतले भ्रमणको प्रस्ताव गरिरहेको छ । यद्यपी प्रचण्डले प्रस्तावलाई अझै स्वीकार गरेका छैनन् ।

मधेश आन्दोलनका समयमा मधेशी दललाई सघाएको र आम नेपालीलाई अभावको सिर्जना गराएको भारतका दुत रेले पहाडी क्षेत्रको भ्रमणका क्रममा भारतप्रती नेपाली समाजमा फैलीएको नकारात्मक भावनालाई न्युनीकरण गर्ने प्रयास गरेका छन् । नेपालमा आफु अनुकुलको संबिधान नबनेपछि करिब छ महिनासम्म अघोषित नाकाबन्दी गरेको भारतको नेपाल स्थित प्रमुख सरकारी अधिकारी समेत रहेका राजदुत रेले नेपाल भ्रमणका लागि आफ्ना देशका नागरिकहरुलाई आग्रह गर्न पनि भ्याए ।

शनिबार बिहान घोडेपानीमा नवविकल्पका प्रतिनिधिसंगको बिशेष भेटघाटका क्रममा राजदुत रेले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण नेपालको भ्रमण गरेर यहाँको पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्न भारतीय नागरिकहरुलाई आग्रह गरेका हुन् । राजदुत रेको यस्तो भनाईले मधेशी मोर्चाले तयारी गरिरहेको आन्दोलन र सिमा क्षेत्रमा हुने अवरोधलाई अब भारतले साथ नदिने संकेतसंगै नाकाबन्दीको क्षत्तीको पुर्ती दिलाउन खाजेको भनेर विश्लेषण गरिएको छ । उत्तरी म्याग्दीको घार गाविस १ मा पर्ने प्रसिद्ध पर्यटकीय स्थल पुनहिलबाट सुर्योदय र हिमशृङखलाको अवलोकन गर्न शनिबार एकाबिहानै त्यहाँ पुगेर पदयात्रा मार्फत घान्द्रुकतर्फ गएका राजदुत रेले नेपालको पर्यटन प्रर्वद्धनका लागि भारतीय पर्यटक भित्र्याउन सन्देश प्रवाह गर्ने आफ्नो भ्रमणको उद्देश्य रहेको बताएका थिए ।

‘भारतको सुरक्षाका लागि पसिना र रगत बगाएका भुपुहरुको बसोबास रहेको घोडेपानी, घान्द्रुक जस्ता पर्यटकीय सम्भावना भएका बस्तीमा पुर्वाधार निर्माणका लागि प्रस्ताव आएमा सहयोग गर्न तयार छौ’ राजदुत रेले स्थानीय भुपु भारतीय सैनीकहरुको मागप्रति आवश्वासन दिदै भने ‘अहिले नेपालमा रहेका एक लाख तिस हजार जना भुपुहरुले यहाँको सामाजिक, विकास निर्माणको क्षेत्रमा गरेको योगदानको स्रहना गर्दछु ।’ उनले राजनीतिक विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।

पोखरा देखि बेनी–भुरुङ्ग तातोपानी–घार–शिख हँुदै चित्रेसम्मको कच्चि र जोखिमयुक्त सडकमा गाडीमार्फत यात्रा गरेका राजदुत रेले २० घण्टाको म्याग्दी बसाईका क्रममा कुनै औपचारीक कार्यक्रममा सहभागिता जनाएनन् । पोखरा स्थित भारतीय सैनीक बोर्डका कर्णेल मनराजसिङ महत, निजी सचिव र सुरक्षा गार्डसहित भ्रमणमा आएका राजदुत रेले भुरुङ्ग तातोपानी कुण्ड, घोडेपानी र पुनहिलको प्राकृतिक सौन्दर्यताको अवलोकनमा धेरै समय खर्चीए । पुनहिलमा पुगेका नेपाली र पर्यटक पथप्रर्दशकहरुले उनिसंगै बसेर हिमाल र सुर्योदयको दृष्यलाई पृष्ठभुमिमा पारेर तस्विर खिचाए ।

राजदुत रेको टोलीले शिख उच्च माविको परिसर र घोडेपानीमा भारतीय सैनीकका पेन्सनरहरुसंग साक्षात्कार पनि गरेको थियो । टोलीलाई स्थानीयबासीन्दाले स्वागत गरेका थिए । राजदुतको टोलीलाई नारच्याङको प्रभा मावि र शिख उच्च माविको भवन तथा घोडेपानीमा खानेपानी आयोजना निर्माणका लागि सहयोग गर्न प्रस्ताव गरिएको घोडेपानी निवासी भारतीय सैनीकका पुर्व क्याप्टेन डमबहादुर पुनले बताए ।

‘भुपुहरुको बसोबास भएको यस क्षेत्रमा विकास योजनाका लागि सहयोग भित्र्याउन भ्रमणका क्रममा लिखित अनुरोध गरेका छौ’ घोडेपानीका होटल व्यवसायी समेत रहेका पुनले भने ‘भारत सरकारको नेपालमा रहेका सबैभन्दा उच्च तहका अधिकारी हाम्रो बस्तीमा आएर हाम्रा कुरा सुन्नु र घुम्नु सकारात्मक पक्ष हो । उनको भ्रमणले यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा पनि सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरेका छौ ।’

राजदुत सहितको टोलीको सुरक्षामा प्रहरी खटिएका थिए । यद्यपी प्रहरी, प्रशासनलाई पनि भ्रमणको आधिकारीक जानकारी थिएन् । उनिहरुले व्यक्तिगत भ्रमण र भुपुसंगको भेटघाटका लागि आएको बताएपनि चिनसंगको कोरल्ला नाकाको अवस्था बुझ्न, नेपाली समाजमा भारतप्रती बढेको नकारात्मक भावनालाई कम गर्न र तिब्बती शरणार्थीसंग सम्बन्ध विस्तार गर्न पनि भ्रमण केन्द्रित रहेको कतिपयले शंका गरेका छन् ।IMG_8748

घोडेपानीमा व्यापार गरेर बसोबास गर्दै आएका तिब्बती शरणार्थीलाई राजदुत रे र पोखरा स्थित भारतीय सैनीक बोर्डका प्रमुख कर्णेल मनराजसिङ महतले बिशेष महत्व दिएर कुराकानी मात्र गरेनन् सम्र्पक नम्बर पनि दिएका थिए । घोडेपानी देउरालीमा स्थानीयले गरेको स्वागतका क्रममा तिब्बती शरणार्थीहरुले राजदुतको टोलीलाई रंगीन खादा लगाईदिए । कर्णेल महतले एक जना शरणार्थीलाई बोलाएर आफ्नो सम्र्पक नम्बर पनि दिएका थिए ।

‘हामी दशकौसम्म भारत र त्यहाँको जनताको सुरक्षाका लागि खुन, पसिना बगाएकाहरुलाई भन्दा तिब्बती शरणार्थीलाई बढी महत्व दिएर कुराकानी गर्नु र मोवाईल नम्बर दिएर सम्र्पक गर्न अनुरोध गर्नुलाई शंकाको रुपमा हेर्न सकिन्छ’ घोडेपानीका एक पुर्व भारतीय सैनीकले भने ।

पोखरादेखि चित्रेसम्म सडकमार्गलाई प्रयोग गर्नु र तिब्बती शरणार्थीसंग सामिप्यता बढाउनुले निर्माणाधिन कालीगण्डकी करिडोर र लामो प्रयासपछि खोल्ने तयारी गरिएको मुस्ताङ स्थित कोरला नाका सञ्चालनमा ल्याउन नदिन भारतले तिब्बती शरणर्थीलाई प्रयोग गर्न सक्ने सुरक्षाविद्हरुको भनाई छ ।

चिनले एक चिन बिरोधी गतिबिधी हुन नदिने ब्यवहारीक प्रतिवद्धतालाई नाका सञ्चालनको प्रमुख सर्त बनाएको छ । अर्कोतर्फ भारतीय राजदुतावासको टोलीले पहाडी क्षेत्रको भ्रमण गरेर नाकाबन्दीका कारण चिढीएका पहाडी तथा हिमाली क्षेत्रका बासिन्दाप्रती सकारात्मक भावना जनाउन खोजेको पनि देखिएको छ । नवविकल्प साप्ताहिक अंक ३१ मा प्रकाशित