विकल्प न्यूज/बेनी
म्याग्दी, वैशाख १२ गते ।
सफल महिला बचत तथा ऋण सहकारी संस्था पर्वत बेनीको आयोजनामा सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । सहकारीमा आबद्ध शेयर सदस्य तथा कर्मचारीहरुलाई सहकारी व्यवस्थापन र सञ्चालनबारे जानकारी गराउने उद्देश्यले सहकारी शिक्षा तालिमको आयोजना गरिएको हो ।
तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी संस्थालाई कर्मचारीको मात्रै जिम्मेवारीमा छाड्न नहुने बताएका छन् । उनले सहकारीले नियमित गतिविधिहरु सञ्चालन गर्नुपर्ने भन्दै सञ्चालक क्षमतावान् र कर्मचारी दक्ष हुनुपर्नेमा जोड दिए ।
तालिमको सञ्चालक जिसी र बहुउद्देश्यीय सहकारी जिल्ला संघ बागलुङका अध्यक्ष अन्जु जिसीले सहजीकरण गरेका थिए । तालिममा सहकारी, सहकारीका सिद्धान्त तथा मुल्यमान्यता, इतिहास र आन्दोलन, सहकारी सञ्चालन एवं लेखा व्यवस्थापन, कारोबार, राष्ट्रिय तथा अन्तर्राष्टिय घटनाक्रमलगायतका बारेमा सहजीकरण गरिएको छ ।
तालिममा सहकारीमा आबद्ध शेयर सदस्य, कर्मचारी, सहकारी अभियन्ता र सहकारीकर्मीलगायत २२ जनाको सक्रिय सहभागीता रहेको थियो । कार्यक्रम सहकारीका अध्यक्ष कल्पना सुवेदीको अध्यक्षता र सचिव अमृता भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।