प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, वैशाख १२ गते ।
म्याग्दीको सदरमुकाम बेनीमा शनिबार महिलाहरुका लागि भाषण कलासम्बन्धी तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग र महिला समन्वय समिति बेनपा–७ म्याग्दीको आयोजनामा महिलाहरुलाई भाषणकला तालिम दिइएको हो ।
तालिम अवधिभरमा उनीहरुलाई बोल्ने तरिका, भाषण गर्ने कला, कार्यक्रम सञ्चालन गर्ने विधि र प्रक्रिया, औपचारिक तथा अनौपचारिक कार्यक्रम चलाउने र बोल्ने सिपलगायत भाषण कलाका विभिन्न विषयहरुमा सहजीकरण गरिएको आयोजकले जनाएको छ ।
तालिम समापनमा बोल्दै म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्यले तालिममा सिकेका विषयहरुलाई व्यवहारमा उतानुपर्ने बताए । उनले नगरपालिकामार्फत लक्षित वर्गअन्तर्गत विनियोजन भएको महिलाहरुको बजेट महिलाहरुकै कार्यक्रममा खर्च गर्ने गरिएको जानकारी दिएका छन् ।
तालिममा सहभागी महिलाहरुलाई सक्रिय सहभागीताको प्रमाणपत्र समेत वितरण गरिएको छ । तालिमको म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ र नेपाल जेसीज वर्ष–२०१५ का राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले सहजीकरण गरेका थिए ।
दुई दिनसम्म चलेको तालिममा बेनपा ७ वडाका ३५ जना महिलाहरुले सहभागीता जनाएका थिए । महिला समन्वय समिति अध्यक्ष भूनु तिलिजाको अध्यक्षता, उपाध्यक्ष शर्मिला थापाको स्वागत र सचिव सञ्जु बरुवालको सञ्चालनमा सम्पन्न तालिममा सहभागी सविता पुनले अनुभव मन्तव्य राखेकी थिइन् ।