विकल्प न्यूज/बेनी
बैशाख १२ गते । जिल्ला बाल सञ्जाल म्याग्दीले बाल अधिकार सुनिश्चितताको लागि १० बुँदे घोषणा पत्र जारी गर्दै जिल्ला बालभेला सम्पन्न भएको छ ।
जिल्ला वाल सञ्जाल म्याग्दीको छैठौँ अधिवेशनको अवसरमा घोषणा पत्र जारी गरेको हो । विद्यालय तहको पाठ्यक्रममा बाल अधिकारका कुरा समावेश गर्नु पर्ने, बालबालिकाको वीचमा हुने विभेदको अन्त्य लगायतको अन्त्यको माग गर्दै घोषणा पत्र जारी गरेको हो ।
बाल सञ्जालको घोषणापत्रमा स्थानीय स्तरमा हुने मेलापर्व जस्ता कार्यक्रमहरु विद्यालय क्षेत्रमा गर्नाले बालबालिकाको पढाईमा असर गर्ने भएकाले त्यस्ता कार्य निरुत्साहित गर्न प्रशासन कार्यालयमा अनुरोध गर्ने, सवारी साधान लगायतका क्षेत्रमा बालश्रम मूख्य समस्याको रुपमा देखिँदै गएकोले बाल श्रम हटाउन सरोकारवालासँग जोडदार माग गर्ने जस्ता कुराहरु उल्लेख गरेको छ ।
पछिल्लो समयमा बाल विबाह बढ्दै गएकोले बाल विवाह निरुत्साहित गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बाटो घाटो, धारा, शौचालय बालमैत्री बनाउन माग गर्ने, गाविस तथा नगरपालिकामा बजेट विनियोजन गर्दा बालबालिको अर्थपूर्ण सहभागिताको सुनिश्चितताको माग गरिएको जिल्ला वास सञ्जाल म्याग्दीका निवर्तमान अध्यक्ष शिव विकले बताउनुभयो ।
विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने कार्यक्रम प्रभावकारी अगाडि बढाउन माग गर्ने, अभिभावकहरुलाई समेत बाल अधिकारको विषयमा जनचेतना जगाउने कार्यक्रम अगाडि बढाउनु पर्ने, बालमैत्री गाविस÷नगरपालिका घोषणा गरेर मात्र नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा सरोकारवालासँग गर्ने लगायतका मागहरु रहेका छन् । गत शुक्रबार र शनिबार बेनीमा जिल्ला बाल भेला भएको थियो । भेलाले दिपक परियारको नेतृत्वमा नयाँ कार्य समिति समेत चयन गरेको छ ।