सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, १२ चैत्र ।
म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले जिल्लाको विभिन्न स्थानमा लागेको आगलागीबाट पीडित भएकाहरुका लागि आईतबार बेनीमा राहत संकलन गरेका छन् ।
क्याम्पस अन्तरगतको व्यवस्थापन संकाय बिभागको आयोजना र युवा रेडक्रस सर्कलको सह आयोजनामा बेनीबजारमा राहत संकलन गरिएको व्यवस्थापन संकाय तृतीय वर्षका विद्यार्थी सुदीन पौडेलले जानकारी दिनुभयो ।
यो वर्ष म्याग्दीका धेरै स्थानमा आगोलागी भएको र लाखौ क्षति भएकोले उनीहरुको राहतका लागि उक्त राहत संकलन अभियान सञ्चालन गरिएको विद्यार्थी इश्वर सुवेदीले बताउनुभयो । आईतबार विहान बजारमा गरिएको घरदैलोका क्रममा २४ हजार ५ सय २२ रुपैयाँ नगद संकलन भएको छ । यसैगरी एक थान कम्मल, चार थान गिलास, ११० थान लत्ताकपडा, एक थान गमला र छ जोडा जुत्ता संकलन भएको म्याग्दी बुहुमुखी क्याम्पस व्यवस्थापन विभाग प्रमुख हरि पोखरेलले जानकारी दिनुभयो । बजारमा राहत संकलन पश्चात क्याम्पसमा एक कार्यक्रम आयोजना गरि उक्त राहत नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखालाई हस्तान्तरण गरिएको छ । रेडक्रस मार्फत बेनपा ७ राहुवडा, बाबियाचौर लगायतका स्थानका आगोलागी पिडितलाई राहत वितरण गरिने शाखाका प्रमुख धनञ्जयकुमार श्रेष्ठले बताउनुभयो ।