सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,बैशाख १२ गते ।
म्याग्दी सदरमुकाम बेनीमा खानेपानी आपूर्ती गर्दै आएको बेनी खानेपानी तथा सरसफाई आयोजनाको क्षमत्ता विस्तारको काम सुरु भएको छ ।
मुहान सुक्दै जानु, तिब्र बस्ती विकास, जनघनत्व वृद्धी र पुरानो संरचनाले खानेपानीको माग धान्न नसकेपछि क्षमत्ता विस्तारको काम सुरु गरिएको हो । छ करोड ४२ लाख छ हजार ४५७ रुपैयाँको लागतमा ठेक्का सम्भौता भएको आयोजना आगामी नौ महिनाभित्र सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष सुवासकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दश किलोमिटर पाईप र दुई सय घनमिटर क्षमत्ताको नयाँ टंकी निर्माण गर्न लुम्बीनी विल्डर्ससंग सम्झौता भएको छ । आयोजनाको क्षमत्ता विस्तार गर्न सरकारले ७० प्रतिशत अनुदान उपलब्ध गराउने सम्झौता भएको छ । नगर विकास कोषबाट २५ प्रतिशत ऋण लिएर निर्माण गर्न लागिएको आयोजनाको लागि उपभोक्ताबाट प्रतिघर चार हजार रुपैयाँका दरले ३६ लाख रुपैया संकलन गरिने अध्यक्ष श्रेष्ठले बताए ।
क्षमत्ता विस्तारपछि बेनी बजारमा चौविसै घण्टा आवश्यकता अनुसारको नियमित खानेपानी आपूती गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाई छ । हाल ९३९ घरधुरी उपभोक्ता रहेको आयोजनाको क्षमत्ता विस्तार भएपछि सन २०२२ सम्मका लागि माग धान्न सक्ने अपेक्षा गरिएको छ । भकिम्ली र बेनपा ४ को सिमानामा पर्ने दुधे र कोप्रे खोलाको पानीको मुहान सुक्न थालेकाले पर्याप्त पानी आपूर्ती घटेको छ ।
सन २०२० सम्मका लागि बेनीमा आवश्यकता अनुसारको खानेपानी आपूर्ती गर्ने उद्देश्य सहित वि.स २०६५ मा आयोजना निर्माण भएको थियो । हाल दैनिक १५ हजार जनाले आयोजनाद्धारा वितरण हुने खानेपानी उपभोग गर्छन् । राम्चे र पर्वतको बाँसखर्क गाविसको सिमानामा रहेको पुम्दीखोलाको मुहानबाट थप पानी ल्याउन लागिएको हो ।
हाल प्रतिसेकेण्ड २८ लिटर खानेपानीको माग भएपनि १२ लिटर मात्रै आपूर्ती हुने गरेको आयोजनाका प्रबन्धक कुमार थापाले बताउनुभयो । उहाँका अनुसार माग अनुसारको आपूर्ती हुन नसकेपछि दुई वर्षदेखि आलोपालो प्रणालीमा खानेपानी वितरण गरिदै आएको छ । क्षमत्ता विस्तार भएपछि प्रतिसेकेण्ड तिस लिटर खानेपानी आपूर्ती हुने जनाइएको छ ।