सन्तोष गौतम/विकल्प न्यूज
घोडेपानी(म्याग्दी) ११ बैशाख ।
नेपालका लागि भारतीय राजदुत रणजित रेले आफ्ना देशका नागरीकलाई नेपाल भ्रमणका लागि आव्हान गर्नुभएको छ ।
भुतपुर्व भारतीय सैनिकहरुसंग भेटघाट र पदयात्राका लागि म्याग्दीको घार गाविस १ घोडेपानीमा आउनुभएका राजदुत रेले प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालका पर्यटकीय स्थलको भ्रमणका लागि भारतीय नागरीकहरुलाई आग्रह गर्नुभएको हो ।
शनिबार बिहान घोडेपानीमा पत्रकारहरुसंग कुरा गर्दै राजदुत रेले नेपालका धार्मीक तथा पर्यटकीय स्थलहरुको प्रर्वद्धन र विकासका लागि भारतीय पर्यटक भित्र्याउन पहल गर्ने बताउनुभयो । उहाँले घोडेपानी, घान्द्रुक लगायत पर्यटकीय स्थलको प्रर्वद्धन र विकासका लागि दुतावासको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
घोडेपानीदेखि एक घण्टा पैदल हिडेर शनिबारबिहान समुन्द्रि सतहदेखि तिन हजार २१० मिटरको उचाईमा रहेको पुनहिलबाट सुर्योदय र हिमशृङखलाको अवलोकन गर्न जानुभएका राजदुत रेले यहाँको प्राकृतिक सौन्दर्यताले आफू मोहित बनेको बताउनुभयो ।
पोखराबाट म्याग्दीको बेनी हुदै घोडेपानी पुगेको राजदुत रेको चार सदस्यीय टोली शनिबार घोडेपानीदेखि पदयात्रा मार्फत घान्द्रुकतर्फ गएको छ ।