प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, वैशाख १०
म्याग्दीको बेनी नगरपालिका–५, डम्बराका बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाउने तयारी शुरु भएको छ । विद्यालयबाहेकको फुर्सदको समयको सदुपयोग गराउने उद्देश्यले उनीहरुलाई सनराईज बालक्लबमा आबद्ध गराई विभिन्न क्रियाकलापहरुमा सहभागी गराउन लागिएको हो ।
विद्यालय उमेर समूहका बालबालिकाहरु नियमित विद्यालय नजाने, होमवर्क नगर्ने, सडक पेटीमा खेल्ने, अनुशासनमा नबस्नेलगायतका गतिविधिमा संलग्न हुन थालेपछि उनीहरुलाई अनुशासन सिकाउँदै पढाई सँगसँगै खेलकुद, मनोरञ्जनलगायतका गतिविधिहरुमा समाहित गरिएको सनराईज बालक्लब डम्बराले जनाएको छ ।
बेनी–दरबाङ सडकखण्डअन्तर्गत पर्ने डम्बराका अधिकांश बालबालिकाहरु दिनभर सडकमै खेल्ने, बाबुआमाले भनेको नमान्ने, नपढ्ने, घरको काममा नसघाउनेजस्ता गतिविधि गर्न थालेपछि उनीहरुलाई समेटेर बालक्लबमार्फत खेलकुद एवं मनोरञ्जन सिकाउने, पाठ्यपुस्तक पढ्न लगाउने, होमवर्क गर्न लगाउने, अनुशासन सिकाउने गतिविधिहरु गर्न थालिएको बाल संरक्षक कृष्णबहादुर बानियाँले बताए ।
खासगरी उनीहरुलाई पढाइको साथसाथमा अतिरिक्त क्रियाकलापबाट सामाजिक गतिविधिमा सामेल गराउने उद्देश्यसहित बालक्लबमार्फत कार्यक्रम शुरुवात गरिएको उनले बताए । आगामी दिनमा क्लब दर्ता गर्ने, बालबालिकालाई क्षमता अभिवृद्धिका तालिम दिने, शैक्षिक र अतिरिक्त क्रियाकलापका आवश्यक सामाग्री खरिद गरी उनीहरुलाई सिकाइने संरक्षक बानियाँको भनाई छ ।
हाल उक्त बालक्लबलाई कतारमा रहेका बिक्रम कार्की र गणेश श्रेष्ठले एकएक थान कम्प्युटर तथा प्रिन्टर सहयोग गर्ने भएका छन् । यसैगरी ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले १०६ ओटा पुस्तक र १०९ ओटा म्यागाजिन पत्रपत्रिका सहयोग गरेको संरक्षक बानियाँले जानकारी दिए ।
त्यस्तै अन्य सहयोगी व्यक्तिहरुबाट शैक्षिक, खेलकुद, फर्निचरलगायतका सामाग्रीहरु सहयोग भएको छ । शनिबार र विदाको दिनको समय पारेर बालबालिकाहरुलाई होमवर्क सिकाउने, पढाउने, खेलकुद र मनोरञ्जनमा सहभागी गराउने गरिएको छ । बालबालिकाहरुलाई प्रशंसा खत्री र सलिना केसीले सहजीकरण गरिरहेका छन् । बालबालिकाहरुले भने आफुहरु बालक्लबमा आबद्ध भई पढ्ने, सामाजिक संस्कार सिक्ने, घरको काममा सघाउने, विदाको समयको सही सदुपयोग गर्ने गरेको बताएका छन् ।
म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको डम्बरा गाउँमा अधिकांश सर्वसाधारण विपन्न रहेको र ओझेलमा परेको भन्दै बालबालिकाका लागि यस्तो कार्यक्रम गर्न खोजिएको बताइएको छ । डम्बरामा मात्रै झण्डै ७० जनाको हाराहारीमा बालबालिकाहरु रहेका छन् ।