सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १० बैशाख ।
जिल्ला विकास समितिको कार्यालय म्याग्दीलाई प्राप्त भएको पर्यटन रोयल्टी शिर्षकको बजेट बिहीबार विभिन्न योजनाहरुका लागि वितरण गरिएको छ ।
स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलको अध्यक्षतामा बसेको बैठकले राजनितिक दलका प्रतिनिधिहरुको सुझाव र जिल्ला परिषद्ले पारित गरेको योजनाहरुलाई प्राथमिकता दिएर बजेट बाँडफाँड गरेको हो ।
पर्यटन मन्त्रालयले उपलब्ध गराएको १७ लाख ३४ हजार रुपैयाँ बजेट विभिन्न नौ वटा योजनाहरुका लागि बाँडफाँड भएको जिविसको योजना शाखाले जनाएको छ । धौलागिरी आईसफल पदमार्गको रुइसे भेडीओडार, शिखको खयरबाराहीमा पुर्वाधार निर्माण र धौलागिरी बेसक्याम्पमा जलवायू परिवर्तन सम्बन्धि गोष्ठि गर्न तिन तिन लाख रुपैयाँ छुट्टीएको योजना शाखाका खरिदार चन्द्रदत्त शर्माले बताउनुभयो ।
यसैगरी नारच्याङको अन्नपूर्ण बेसक्याम्प पदमार्ग र घार देखि शिख सडक मर्मतका लागि दुई, दुई लाख, भकिम्ली स्वर्गाश्रम, ताकमकोट पदमार्ग निर्माणका लागि एक, एक लाख रुपैयाँ बाँडफाँड गरिएको छ ।
झाँक्रीपानी बरंजा पदमार्ग निर्माणका लागि एक लाख ४४ हजार र बेनपा ८ मा शिवालय मन्दिर निर्माणका लागि बिस हजार रुपैयाँ छुट्टीएको छ ।
बजेट बिनियोजन भएका योजनाको प्रभावित क्षेत्रका उपभोक्ताहरुको भेला गरि सम्झौता गर्न आउन जिविसले अनुरोध गरेको छ । ति योजनाहरु चालु आर्थिक वर्षभित्रमै सम्पन्न गरीसक्नुपर्ने छ । यसवर्ष पर्यटन सम्बन्धि अन्य शिर्षकमा बजेट बढेकाले रोयल्टी शिर्षकमा कम बजेट आएको जिविसले बताएको छ ।
यसवर्ष मुदी बगर हुदै धौलागिरी बेसक्याम्प जाने पदमार्ग निर्माणका लागि पच्चिस लाख रुपैया बराबरको काम भैरहेको छ । यसैगरी पर्यटन कार्यालय पोखराले पर्यटन पुर्वाधार निर्माणका ९५ लाख रुपैयाँ बराबरको योजना सञ्चालन गरेको छ । यसैगरी पर्यटन मन्त्रालयले धार्मीक स्थलहरुका लागि छुट्टै १७ लाख रुपैयाँको योजना पनि सञ्चालन गरेको छ ।