सन्तोष गौतम
म्याग्दी, ९ बैशाख । म्याग्दीका पत्रकारहरुको नेतृत्वमा बिहीबारदेखि धार्मीक, सांस्कृतीक र पर्यटकीय हिसावले महत्वपूर्ण कालीगण्डकी नदीको सरसफाई अभियान सुरु भएको छ ।
खानेपानी, सरसफाई तथा स्वच्छता (वास) पत्रकार मञ्चको अगुवाईमा कालीगण्डकी र म्याग्दी नदीमा बढ्दो प्रदुषण नियन्त्रणका लागि सर्वपक्षीय सहभागितामा अभियान सुरु भएको हो ।
तटीय क्षेत्रमा बसोबास र जनघनत्वसंगै बढ्दो फोहोर तथा प्रदुषण नियन्त्रणका लागि स्थानीयबासीलाई सचेत र सरोकारवालालाई सक्रिय बनाउन हरेक हप्ताको बिहीबार बिहान नदी किनारमा सरसफाई गरीने मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यले जानकारी दिनुभयो ।अभियानको पहिलो दिन बेनीको कालीपुल बसपार्क क्षेत्र र कालीगण्डकी किनारमा फालीएको दश मेट्रिक्टन भन्दा बढी फोहोर संकलन गरेर नष्ट गरिएको छ । बेनी गलेश्वर सडकको डल्लेपीपलदेखि कालीपुलको मोटरेबल पुलसम्म दुई घण्टासम्म भएको सरसफाई कार्यक्रममा करिब एक हजार जनाको सहभागिता रहेको थियो ।
अभियानमा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य लगायत कार्यालय प्रमुख, राजनीतिककर्मी, नेपाली सेनाको ईन्द्रबक्स गण, जिल्ला प्रहरी कार्यालय, कर्मचारी, सञ्चारकर्मी, उद्योगी व्यवसायी, टोल सुधार समिति, विद्यार्थी, सामाजिक संघ संस्था, कल्व, आमा समूहका एक हजार जनाको सहभागिता रहेको थियो ।
त्यस्तै उक्त अभियानमा राष्ट्रिय कलाकार मनोज गजुरेल, मिलन अमात्य, जानकी बोहोरा, सुरेन्द्र केसी लगायतले समेत सहभागिता जनाएका थिए । अभियानले फोहोर जथाभावि फाल्नेहरुलाई सचेत बनाउने र स्थानीय निकायलाई फोहोर ब्यवस्थापमा मद्दत पुगको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो ।
विश्वमा शालग्राम शिला पाइने एकमात्र मुस्ताङदेखि त्रिवेणीसम्म बग्ने कालीगण्डकी नदीमा हिन्दु धर्मावलम्बीहरुले स्नानका साथै पर्यटकले जलयात्रा गर्छन् । म्याग्दी जिल्लाभित्र कालिगण्डकी र म्याग्दी नदीको किनारलाई सफा राख्नको लागि सरसफाई अभियानको साथै बेनी नगरपालिकासंगको सहकार्यमा बोर्ड राख्ने, पत्रपत्रीका, रेडियो, अनलाईन, सामाजिक सञ्जाल र टेलीभिजन लगायतका सञ्चार माध्यमबाट सन्देश प्रकाशण प्रशारण गरिएको अभियानका संयोजक गोपाल छन्त्यालले बताउनुभयो ।
समय तटीय बस्तीका बासिन्दाले बजारको फोहोर र ढल नदीमा बिर्सजन गर्ने क्रमसंगै वातावरण र जलप्रदुषण बढ्दै गएको छ । नगरपालीकाले फोहोर ब्यवस्थापनका लागि बजारमा दैनिक ट्याक्टर परिचालन र ल्याडफिल्ड साईटको खोजी गर्नुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।