सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ८ बैशाख ।
म्याग्दीका एक जना मुटुरोगी बालकको शल्यक्रियाका लागि आर्थिक स्रोत जुटाउन अभियान सुरु भएको छ ।
परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बेनी नगरपालीका १ रत्नेचौरका ९ वर्षिय नविन थापामगरको शल्यक्रिया गर्ने उपचार खर्च जुटाउन अभियान सुरु गरेको हो । संस्थाको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि अभिभावको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएका बालकलाई सहयोग गर्न अपिल गरिएको छ ।
कक्षा ५ मा अध्ययन गर्ने थापाको मुटुमा प्वाल परेको बुवा पवीराम थापाले बताउनुभयो । उनको आगामी असार ८ गते अप्रेशनका लागि मिति तय भएको छ । शल्यक्रियाका लागि तिन लाख रुपैया आवश्यक पर्ने जनाइएको छ ।
उनको उपचारका लागि आर्थिक संकलन गर्न सन्तोष रावलको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ । अभियानमा सहयोग गरि छोराको जिवन बचाइदिन बुवा पविरामले अपिल गर्नुभएको छ ।
ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, सचिव लोकेश पुन मगरको सञ्चालन र उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा प्रवासमा रहेर संस्थाले सञ्चालन गर्ने अभियानमा सहयोग गर्नुहुने श्याम पुर्जा, टेकबहादुर बुढा र रमेश केसीलाई स्वागत गरिएको थियो ।