सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ८ बैशाख ।
बेनी नगरपाली कार्यालयका योजना तथा कार्यक्रम कार्यान्वयमा समस्या देखिएको छ । नगरपालीकाले पेश्की नदिने ब्यवस्था गरेपछि उपभोक्ता समितिलाई निर्माण सामाग्री खरिद र मजदुरलाई ज्याला दिन समस्या भएको हो ।
आर्थिक अभावमा उपभोक्ता समितिका पदाधीकारी ऋण खोजेर काम गर्न बाध्य भएका छन् । आफै आर्थिकको जोहो गर्न नसक्ने अवस्था भएका विपन्न उपभोक्ताहरु रहेको समितिका योजनाहरु प्रभावित बनेका छन् ।
समिति आफैले पैसा खोजेर तथा व्यक्तिगत रकमबाट खाता खोल्नुपर्ने, निर्माण सामाग्री खरिद गर्नुपर्ने र मजदुरलाई ज्याला दिनुपर्ने अवस्था रहेको बेनी नगरपालीका १३ तातोपानी स्थित जलकेनी लेतेखोला ठुलोखोला तटबन्ध उपभोक्ता समितिका अध्यक्ष बिष्णुदत्त उपाध्यायले बताउनुभयो ।
नगरपालीकाले पाँच लाख ५० हजार रुपैया अनुदान उपलब्ध गराएको उक्त योजनाको ९५ थान तारजाली ग्याभीन भर्नुपर्नेमा जलकेनी स्थित म्याग्दी नदी किनारमा हालसम्म ५० थान भरेर तटबन्ध गरिएको छ । समितिका पदाधीकारीहरुले डेढ लाख रुपैया ऋण खोजेर तारजाली किन्ने, बुनेर काम गरेका छन् । ज्याला दिन नसक्दा काम गर्ने थप मजदुर र निर्माण सामाग्री जुटाउन नसकेको अध्यक्ष उपाध्यायले बताउनुभयो ।
नगरपालीका मार्फत सञ्चालित सडक, खानेपानी, तटबन्ध, पहिरो नियन्त्रण, विद्युतीकरण, सिचाई लगायतका योजनाका उपभोक्ता समितिहरु पनि ऋण खोजेर काम गरिरहेका छन् । ऋण खोज्न नसक्नेहरु काम सुरु गर्न सकेका छैनन् । नगरपालीकाको यस्तो ब्यवस्थाले उपभोक्तालाई निरुत्साहीत गरी ठेकेदार प्रथालाई प्रोत्साहन गरेको बेनपा १३ का योगेन्द्र केसीले बताउनुभयो ।
बेनी नगरपालीकाका कार्यकारी अधिकृत छवीलाल सुवेदीले उपभोक्ता समितिले पेश्कि लिने, समयमै काम नगर्ने र बेरुजु देखिने समस्या बढेपछि देशभरका नगरपालीकाले काम सम्पन्न भएपछि एकैपटक भुक्तानी दिने व्यवस्था गरेको बताउनुभयो । नगरपालीकाले यस वर्ष बेनीमा करिब पाँच करोड रुपैया बजेटका योजना तथा कार्यक्रम सञ्चालन गर्दैछ । दुई वटा बाहेक अरु सबै पुर्वाधार योजना सम्झौता भैसकेका छन् ।