सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ बैशाख ।
म्याग्दीको देविस्थानमा रहेको भिम माविले स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा सोमबारदेखि स्वर्णजयन्ती मनाउन सुरु गरेको छ ।
५७ वर्षअघि वि.स २०१६ सालमा स्थापना भएको भिम माविले बैशाख १३ गतेसम्म बिबिध कार्यक्रम सहित मनाउन लागेको स्वर्ण जयन्तीको म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा मन्तब्य व्यक्त गर्दै स्थानीय विकास अधिकारी पौडेल र बिशिष्ट अतिथि जिशिअ रामप्रसाद अधिकारीले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
मुल समारोह समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुनको अध्यक्षता, प्रअ डम्मरबहादुर घर्ती र शिक्षक प्रकाश सुवेदीको सञ्चालन, अर्का शिक्षक नरबहादुर बिकको स्वागत मन्तब्यमा सम्पन्न भएको उद्घाटन समारोह पुर्व देविस्थानमा ¥याली निकालीएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य चिरञ्जिवी शर्मा, जिल्ला सदस्य कमल छन्त्याल, एकिकृत नेकपा माओवादीका केन्द्रिय परिषद् सदस्य तथा पुर्व सांसद गोविन्द पौडेल, पुर्व जिविस सभापति ओमप्रकाश शेरचन, भुपु विद्यार्थी समाजका संयोजक भकबहादुर घर्ती, गाविस सचिव बिष्णुप्रसाद शर्मा, मुदी गाविसका सचिव गिरीप्रसाद शर्मा, महिला सञ्जालका अध्यक्ष लक्ष्मीकुमारी पुर्जा, छिमेकी विद्यालयको तर्फबाट पिपला पुन लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी विद्यालयको सहयोगका लागि सञ्चालित आर्थिक संकलन अभियानका संयोजक जितबहादुर घर्ती र देविस्थान काठमाडौ सम्र्पक समितिका अध्यक्ष दलबहादुर भट्टचनले मन्तब्य सहित चन्दा संकलन अभियानका क्रममा सहयोगदाताहरुको विवरण सार्वजनिक गर्नुभएको थियो । विद्यालयलाई हालसम्म ७० लाख रुपैयाँ चन्दा सहयोग जुटेको छ । काठमाडौ र बिदेशमा ५८ लाख तथा पोखरा, बेनी, दरवाङ र गाउँमा ११ लाख रुपैयाँ सहयोग जुटेको प्रअ घर्तीले बताउनुभयो ।
विद्यालयमा पुस्तकालय स्थापना गरि व्यवस्थित रुपमा सञ्चालन गर्ने, कम्प्युटर ल्याब स्थापना गर्ने, बालबिकास केन्द्रलाई ब्यवस्थित र सुबिधासम्पन्न बनाउने, विद्यालय परिसर घेराउ गर्ने र प्राबिधिक शिक्षालय स्थापनाका लागि जग्गा खरिद गरि भवन लगायतका पुर्वाधार तयार गर्न आर्थिक स्रोत जुटाउन स्वर्ण जयन्तीको अवसर पारेर अभियान सञ्चालन गरीएको हो । सहयोग प्राप्त हुने क्रम जारी रहेको छ ।
वि.स २०३७ मा निमावी र २०५२ मा मावि तहको पठनपाठन सुरु गरेको उक्त विद्यालयको स्वर्ण जयन्तीको अवसरमा जिल्ला स्तरीय अन्तर मावि छात्र फुटबल, छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको छ । उक्त कार्यक्रममा पुरुषोत्तम न्यौपाने, जानकी तरामी मगर, कुमार पुन, निसा गुरुङ लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुतीका साथै नृत्य प्रतियोगिता हुने भएको छ ।