प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, वैशाख ६
गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय महासचिव मिलन श्रेष्ठले नेपाल सरकारको विकासका साझेदार संस्थाहरु गैरसरकारी संस्था भएको बताएका छन् । गैसस महासंघ म्याग्दी शाखाको १६ औं साधारणसभा तथा आठौं अधिवेशनको सोमबार सदरमुकाम बेनीमा उद्घाटन गर्दै उनले राज्यको साझेदारी निकायका रुपमा गैससहरु रहेको बताएका हुन् ।
गैरसरकारी संघसंस्थाले स्वयंसेवकका रुपमा समाजमा काम गरेको बताउँदै उनले गैससले नागरिक आन्दोलन, अधिकार, समाज विकास र रुपान्तरणमा आवश्यक भूमिका खेलेको बताए । उनले सेवा, अधिकार र निर्मााणका क्षेत्रमा गैससले काम गर्दै आएकोमा जोड दिँदै काम नगर्ने संघसंस्थालाई राजनीतिक दल तथा सरकारी निकायले खबरदारी गरेमा गैसस महासंघले पनि कार्वाही गर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले गैरसरकारी संघसंस्थाहरु राज्यका सहयोगी निकाय भएकाले राज्य नपुगेका ठाउँमा पुगेर जनतालाई सेवासुविधा प्रदान गर्नुपर्ने बताए । उनले सुशासन कायम गर्नका लागि सबै सरोकारवाला निकाय र संघसंस्था मिलेर अघि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै गैसस महासंघका केन्द्रीय सचिव रामप्रसाद सुवेदीले गैससको काम समाजमा खबरदारी गर्ने भएकाले सरकारले ल्याउने राम्रा काममा गैससले साझेदारीका रुपमा सघाउने बताए । उनले विदेशबाट आउने पैसाको ८५ प्रतिशत सरकारले र १५ प्रतिशत मात्रै गैससले खर्च गर्ने गरेको बताएका छन् ।
कार्यक्रममा गैसस महासंघका क्षेत्रीय इन्चार्ज देवीप्रसाद तिमिल्सीना, केन्द्रीय सदस्य दिवाकुमारी पुन, नेपाली काँग्रेस म्याग्दीका जिल्ला सदस्य माधवप्रसाद रेग्मी, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एमाओवादीका प्रतिनिधि कुशल पौडेल, अखण्ड नेपाल पार्टीका अध्यक्ष डम्बरबहादुर बानियाँ, वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल , म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य र मिलन म्याग्दीका अध्यक्ष जुना गर्बुजाले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अवसरमा गैसस महासंघ म्याग्दीबाट प्रकाशित गरिएको एनजिओ प्रोफाइलको विमोचन समेत गरिएको छ । कार्यक्रमका अतिथिहरुलाई स्थानीयस्तरमा नेपाली कागजको प्रयोगबाट निर्माण गरिएको डायरी प्रदान गरिएको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलले प्रगति र कोषाध्यक्ष खरमाया बिटालुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष वेगप्रसाद गर्बुजाको स्वागत र सहसचिव मालती खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । अहिले बन्दसत्र चलिरहेको छ भने बन्द सत्रबाट महासंघको नयाँ नेतृत्व चयन गरिने बताइएको छ ।