विकल्प न्यूज\बेनी
पुस १२ गते ।
गाउँसभाले वृहत घोप्टेखोला र बृहत चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको १ प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णय समेत गरेको छ । संघीय सरकार मार्फत योजना सञ्चालनको तयारी गरिएको रघुगंगा गाउँपालिको वडा नम्बर २ भगवती, ३ पिप्ले र ७ चिमखोलालाई समेटने बृहत चिमखोला, पिप्ले भगवती खानेपानी आयोजना र वडा नम्बर ५ झिँ र ६ पाखापानीलाई समेट्ने बृहत घोप्टेखोला खानेपानी योजना सम्झौताको लागि उपभोक्ताले जुटाउनुपर्ने स्रोतका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसैगरि संघीय विशेष अनुदान अन्तरगत वडा नम्बर १ बेगको भुँइपाईले फुटवल खेलमैदान, वडा नम्बर २ को बैँसेरी–साझापानी लिफ्ट सिँचाई योजना, वडा नम्बर ४ को शिव आधारभुत विद्यालय पुननिर्माण, वडा नम्बर ५ को उच्च उचै खेलमैदान, र वडा नम्बर ३ को रघुगंगा माविको खेलमैदान निर्माणका लागि बजेट माग गरिएको छ भने प्रदेश विशेष अनुदानमा वडा नम्बर ५ को गौरव आधारभुत विद्यालयको पूर्वाधार निर्माणको योजना माग गर्नुका साथै विभिन्न खोलाहरुमा वारपारका लागि झोलुङ्गे पुलहरु समेत माग गर्ने निर्णय गरिएको छ ।
सभाले जग्गा वर्गीकरणका लागि स्थानीय जग्गा बर्गीकरण कार्यान्वयन समिति गठन गरि समिति मार्फत नै आवश्यक कार्य अघि बढाउने निर्णय गरेको छ । गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले चालु आर्थिक बर्षमा निर्वाचन लगायतका कारण योजना कार्यान्वयनमा ढिलाई भएको बताउँदै योजनाहरुलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि सम्बन्धीत वडाहरु र उपभोक्ताहरुले तत्परता देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सिमित स्रोत र साधनका बिच गाउँपालिकाले अत्याबश्यक आबश्यकताहरुलाई प्राथमिकतमा राखेर योजना छनौट र बजेट विनियोजन गरेको बताउँदै पालिकाको स्रोत र साधनले नभ्याउने योजनाहरुका लागि प्रदेश र संघीय सरकारमा पहल गरिने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीप अधिकृत कृष्णप्रसाद ढकालले निर्वाचन पछि पालिका मार्फत सञ्चालन हुने योजनाहरुको कार्यान्वयनको गति बढेको बताउँदै पालिका मार्फत सम्पादीत प्रगतिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष एवम् प्रवक्ता शेरपुञ्जा र वडा नम्बर ३ का अध्यक्ष खिमबहादुर शाहीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा मालपोत अधिकृत कृष्णबहादुर कार्की र नापी अधिकृत तुलसी प्रसाद पौडेलले स्थानीय जग्गा बर्गीकरण कार्यान्वयन समितिको क्षेत्राधिकार, काम , कर्तव्य र सिमाहरुको बारेमा जानकारी गराउनुभएको थियो । गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता, उपाध्यक्ष प्रेमकुमारी पुनको स्वागत र लेखा अधिकृत खगराज सुवेदीले सञ्चालन गर्नुभएको सभामा विभिन्न योजनाहरुको संसोधन, कार्यपालिका बैठकका निर्णय अनुमोदन समेत गरिएको गाउँपालिकाका आन्तरिक लेखा परीक्षक कुशल ढुंगानाले जानकारी दिनुभयो ।