ताजा समाचार:
Search

निशूल्क स्वास्थ्य शिवीरबाट सात सय जना भन्दा बढी लाभान्वित

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ५ बैशाख ।
जिल्ला अस्पताल बेनीमा आईतबार सम्पन्न भएको हाडजोर्नी सम्बन्धि निशूल्क स्वास्थ्य शिवीरबाट सात सय जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।

तिन दिन सम्म सञ्चालित शिवीरमा ७२४ जनाको स्वास्थ्य परिक्षण र ३७ जनाको शल्यक्रिया गरिएको आयोजक लायन्स कल्व अफ बेनी म्याग्दीले जनाएको छ ।

नेपाल अर्थोपेडीक अस्पताल काठमाडौका हाडजोर्नी रोग विशेषज्ञ युवराज खरेल नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले निशूल्क स्वास्थ्य परिक्षण, परामर्श, शल्यक्रिया र औषधि वितरण सेवा प्रदान गरेको लायन्स कल्व अफ बेनी म्याग्दीका अध्यक्ष कुबिर श्रेष्ठले बताउनुभयो ।DSC00248

म्याग्दीका साथै पर्वत, मुस्ताङ र बागलुङ जिल्लाका बिरामीहरु पनि शिवीरबाट लाभान्वित भएका छन् । खुट्टाको पैताला फर्किएका, जन्मजात हातखुट्टा बाङ्गिएका, भाँचिएका, स्टिल पाटा वा किल्ला निकाल्ने र शरिरमा गाँठागुठी हुने समस्याको उपचार गरिएको थियो ।
आर्थिक कारणले जिल्लाबाहीरका अस्पतालमा गएर हाडजोर्नी सम्बन्धि समस्याको उपचार सेवा पाउन नसकेका सर्वसाधारणलाई स्थानीय स्तरमै सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउन शिवीरको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

शिवीरको लायन्स कल्व अफ बेनी म्याग्दी, नेपाल अर्थोपेडीक अस्पताल काठमाडौ, जिल्ला अस्पताल म्याग्दीले संयुक्त रुपमा आयोजना गरेका हुन् । शिवीर सञ्चालन गर्न लायन्स कल्व अफ म्याग्दी दोभान, बेनी सिटी, बेनी मल्लाज, दरवाङ, लियो कल्व बेनी र अपाङ्ग संघ म्याग्दीले सहयोग गरेका थिए ।