ताजा समाचार:
Search

म्याग्दीकाली बृहत सरसफाई अभियान सञ्चालन गरिदै

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ५ बैशाख ।
धार्मीक, सांस्कृतीक र पर्यटकीय महत्व बोकेको कालीगण्डकी र म्याग्दी नदीमा बढ्दो प्रदुषण नियन्त्रणका लागि बृहत सरसफाई अभियान सञ्चालन हुने भएको छ । खानेपानी सरसफाई तथा स्वच्छता (वास) पत्रकार मञ्चको नेतृत्वमा म्याग्दी र कालीगण्डकी नदीमा प्रदुषण न्युनीकरणका लागि बैशाख ९ गतेदेखि अभियान सञ्चालन हुन लागेको हो ।

मञ्चले आईतबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा अभियानका संयोजक गोपाल छन्त्यालले सर्वपक्षिय सहभागीतामा सरसफाई अभियान सञ्चालन गर्ने तयारी भएको जानकारी दिनुभयो । बजारीकरण र जनघनत्वको तिब्र विकाससंगै नदी किनारमा फोहोर र ढल फाल्ने बढ्दो क्रमसंगै नदी प्रदुषित तथा दुर्गन्धित बनेर जलचर र वातावरणलाई असर पर्नुका साथै सरसफाईमा चुनौती देखिएको छ ।

wash news photo
हिन्दु धर्मावलम्बिहरुले पवित्र मानेर स्नान गर्ने र पर्यटकले जलयात्रा गर्ने शालग्राम शिला पाइने विश्वको एकमात्र कालीगण्डकी नदीको बिबिध महत्व रहेको छ । कालीगण्डकीको महिमा र महत्वलाई बचाईराख्न प्रदुषण नियन्त्रणका लागि बैशाख ९ गतेदेखि हरेक बिहीबार बेनीका सर्वसाधारण, कर्मचारी, उद्योगी, ब्यापारी, सुरक्षाकर्मी, नागरीक समाज र पत्रकारहरुको सहभागितामा म्याग्दी र कालीगण्डकी नदीको फोहोर ब्यवस्थापनका लागि अभियान सुरु गर्न लागिएको मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यले बताउनुभयो ।

अभियानको पहिलो चरणमा स्थानीय प्रशासन, नगरपालीका, जिविस, वडा नागरीक मञ्च, बेनी स्थित टोल सुधार समिति, उद्योग वाणिज्य संघ र विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुसंग छलफल गरि योजना तयार पारिएको मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यले बताउनुभयो ।
छलफलमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशव आचार्य, प्रहरी नायव उपरिक्षक विश्वराज खड्का, बेनी नगरपालीका कार्यालयका कार्यकारी अधिकृत छवीलाल सुवेदी, नेपाली काँग्रेसका जिल्ला सचिव हरिकुमार श्रेष्ठ, एमालेका सचिवालय सदस्य कृष्ण बिक, एमाओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष सुदिन पौडेल, उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्य लगायतले अभियानलाई सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ।

छलफलमा सहभागि बेनी बजारमा गठित टोल सुधार समितिहरुले सरसफाई अभियानप्रती आफ्नो अनुभव, बिचार र सुझाव व्यक्त गर्नुभएको थियो । मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यको अध्यक्षता, सचिव मालती खत्रीको सञ्चालन र उपाध्यक्ष तथा अभियानका संयोजक गोपाल छन्त्यालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । यसअघि बेनीका टोलसुधार समितिले बजारको सरसफाई अभियान सञ्चालन भएको थियो भने मानव अधिकार तथा शान्ति समाजले गत महिनादेखि कालीगण्डकी सरसफाई अभियान सुरु गरेको थियो ।