ताजा समाचार:
Search

बेनीमा कालीगण्डकी नदी नियन्त्रण आयोजना सुरु

सन्तोष गौतम/विकल्प न्यूज
बैशाख ५ गते ।
म्याग्दी सदरमुकाम बेनीमा करिब दुई करोड रुपैयाँ लागतमा कालीगण्डकी नदी नियन्त्रण आयोजना सुरु भएको छ ।

कालीगण्डकी नदीको कटान नियन्त्रण गरि बेनी बजारलाई सुरक्षित बनाउने उद्देश्यले आयोजना सुरु गरिएको हो । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय पोखरा मार्फत कटान नियन्त्रणका लागि कालीगण्डकी किनारमा पक्कि पर्खाल निर्माण सुरु भएको छ ।

यस वर्ष विद्युत प्राधिकरणको कार्यालय मुनीदेखि जेसीज भवन भन्दा केही माथिसम्म १२४.५ मिटर दुरीमा सात मिटर अग्लो आरसीसी पर्खाल निर्माण गर्न कार्यक्षेत्रमा निर्माण व्यवसायी परिचालन भैसकेको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले जनाएको छ ।kaligandaki niantran plan

गत वर्ष कालीपुलको मोटरेबल पुल देखि विद्युत कार्यालय मुनीसम्म ६३ मिटर आरसीसी पर्खाल निर्माण भएको थियो । यस वर्ष पर्खाल निर्माणका लागि मुक्तिनाथ, बिएन कन्ट्रक्सन जेभीसंग एक करोड ८८ लाख रुपैयाँमा सम्झौता भएको कार्यालयका प्रमुख खगेन्द्र भट्टचनले जानकारी दिए ।

२०७२ चैत १ गते कार्यालय र निर्माण व्यवसायीबीच भएको सम्झौता अनुसार२०७३ असार मसान्तभित्रै काम सम्पन्न गरिसक्नुपर्नेछ । म्याग्दी सदरमुकाम बेनी बजार नदी कटानका हिसावले देशमै जोखिमयुक्त मानिन्छ । यसअघि नदी किनारमा तारजाली ग्याविन भरेर पर्खाल लगाउदै आएपनि कटानको दिगो नियन्त्रणका लागि गत वर्ष गुरुयोजना तयार गरि पक्कि पर्खाल लगाउन थालीएको हो ।

बेनी बजार स्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा पक्कि पर्खाल लगाउने गरि बहुवर्षे योजना सञ्चालन गरिएको छ । नदी किनारमा पर्खाल लगाएपछि त्यसमाथि फिलीङ गरेर चक्रपथ सञ्चालन गर्ने योजना बनाइएको छ ।