प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, वैशाख ४
पाल्पा तानसेनकी १८ वर्षीय श्रीया न्यौपानेले पर्वतका आगलागी पीडितहरुसँग आफ्नो जन्मदिन मनाएकी छिन् । शनिबार पर्वतको मिलनचोक बजारमा आयोजना गरिएको आगलागीपीडितका लागि राहत हस्तान्तरण कार्यक्रममा उनले धाईरिङ–१ लुलाङखानी गाउँका अग्नी पीडितहरुलाई शैक्षिक तथा लत्ताकपडा सहयोग गरी जन्मदिन मनाएकी हुन् ।
जन्मदिन मनाउने नाममा महङ्गो रकम खर्च गर्ने र सहपाठीहरुलाई भव्य पार्टी दिने प्रचलन बढ्दै गैरहेको अवस्थामा न्यापानेले आगलागीको कारणबाट पीडित बनेका उनीहरुलाई थोरै भए पनि राहत पुगोस् भनेर सामाग्रीहरु सहयोग गरेर जन्मदिन मनाएको उनले बताइन् । श्रीयाले कुल ११ हजार रुपैयाँ बराबरको ४ पीडित परिवारका ७ जना विद्यालय उमेर समूहका बालबालिकालाई झोलासहित एकएक सेट शैक्षिक सामाग्रीहरु प्रदान गरेकी छिन् । यसैगरी उनले परिवारलाई पनि लत्ताकपडा सहयोग गरिन् ।
उनका बुबा सुर्यप्रसाद न्यापानेले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यसहित आफ्नो छोरीले फरक किसिमले जन्मदिन मनाउने घोषणा गरेको हुँदा सोहीअनुसार राहत हस्तान्तरण गरिएको बताए । श्रीया अहिले पाल्पाको सदरमुकाम तानसेनस्थित पाल्पा आवासीय उच्च माविको कक्षा ११ मा विज्ञान विषय पढ्दै आइरहेकी छिन् । गत वर्षको एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएकी उनको भविष्यमा पढाइलाई निरन्तरता दिँदै समाजसेवामा लाग्ने भनाई छ ।
यसैगरी सोहीअवसरमा सुर्य न्यौपानेले मिलनचोकको नव जनजागृति प्राविमा अध्ययनरत २ जना जेहेन्दार तथा गरिब छात्रालाई स्टेशनरी सामाग्री सहयोग गरेका छन् । गएको फागुन २८ गते धाइरिङ लुलाङखानीस्थित सामुदायिक वनमा लागेको डढेलो मानववस्तीमा पस्दा ४ घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । घरमा अलिअलि भएको अन्नपात र अन्य सबै सामान जलेर सकिएपछि पीडित बनेका परिवारहरु अहिले विभिन्न व्यक्ति र संघसंस्थाको सहयोग लिन बाध्य भएका छन् ।
1 thoughts on “पाल्पाकी श्रीयाले मनाइन् पर्वतका आगलागी पीडितसँग जन्मदिन”