मतदातालाई विकासको खाका सुनाउँदै गठबन्धनका उम्मेदवार

विकल्प न्यूज/बेनी
कात्तिक १७ गते ।


आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरूले जिल्लाका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमविर) र प्रदेशसभा सदस्य क्षेत्र नं २ का उम्मेदवार नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक सुविन जुग्जालीले मंगला गाउँपालिका वडा नं ५ अर्मनमा विभिन्न स्थानमा घरदैलो अभियान गर्नुभएको छ ।
घरदैलो अभियान सहित खेतबारीमा रहेका मतदातालाई भेट्दै उम्मेदवार गर्बुजाले पाँचबर्षमा म्याग्देली जनतालाई बिकासको अनुभुति दिलाउने गरी काम गर्ने गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजय बनाउन अनुरोध गर्नुभयो ।

अब गटबन्धनको सरकार बनेमा ६५ वर्षमै वृद्ध भत्ता, ३ वर्ष मुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार, विपन्नलाई १० हजार किरिया खर्च, ५० युनिटसम्म विद्युत निःशुल्क जस्ता सुविधा दिने समेत गर्बुजाको भनाई थियो । घरदैलो अभियानमा मतदातालाई उम्मेदवार गर्बुजाले विकासको खाका सुनाउँदै अव म्याग्दीलाई विकास निर्माणको क्षेत्रमा अन्य जिल्ला सरह प्रतिस्पर्धामा लैजानुपर्ने बताउनुभयो ।

जल्लाभित्र सामानुपातिक बजेट वितरण, ग्रामिण क्षेत्रमा रहेका अति आवश्यक समस्याहरु समाधान सहितका कार्यहरुलाई पहिलो प्राथमिकता दिने प्रदेशसभा सदस्यका उम्मेदवार जुग्जालीले बताउनुभयो । मतदातालाई भेठघाट सहित घरदैलो अभियानको क्रममा प्राप्त सुझावलाई विजय भएपछि पहिलो प्राथमिकतामै कार्यान्वयन गर्ने बताउनुभयो ।

यसैबीच प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता हरि भण्डारीले रघुगंगा गाउँपालिका वडा नं ८ कुईने, वडा नं ६ ठाडाखानीमा घरदैलो अभियान गर्नुभएको छ ।

घरदैलो अभियानमा उम्मेदवार भण्डारीले प्रदेश सकारले यसअगाडी गरेका विकास निर्माणका गतिविधिलाई निरन्तरताका साथै जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

उहाँले छिमेकी जिल्लाको पहुँचका कारण विकासमा फड्को मारेको बताउँदै म्याग्दीको विकासका लागि समेत अव ढिलाई गर्न नहुने बताउनुभयो । घरदैलो अभियानमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुको उपस्थिती रहेको थियो ।