ताजा समाचार:
Search

बेनीका होटल पाहुनाले भरिभराउ

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, ३० चैत ।
म्याग्दी सदरमुकाम बेनीका होटलहरु केही दिनयता पाहुनाले भरिभराउ बनेका छन् ।

म्याग्दी हुदै मुस्ताङ जाने आन्तरीक तथा बाह्य पर्यटक र भक्तजनको संख्या वृद्धी भएसंगै होटलमा पाहुनाको चाप बढेको हो । भुकम्प र नाकाबन्दीका कारण यसअघिका सिजन शुनसान हुँदा निराश बनेका होटल ब्यवसायीहरु बसन्तयामसंगै पाहुनाको चाप बढेपछि उत्साहीत भएका छन् ।

पछिल्लो एक हप्तायता बेनीमा दैनिक एक हजार देखि एक हजार पाँच सय जना सम्म आन्तरीक पर्यटक भित्रीएको म्याग्दी होटल तथा रेष्टुरेष्ट ब्यवसायी संघले जनाएको छ । अनुकुल मौसम, पदयात्राको सिजन, नयाँ वर्ष र चैते दसैमा मुस्ताङ घुम्न जाने र आउने पर्यटकहरुको चापसंगै बेनीका होटलहरु पाहुनाले भरिभराउ भएका संघका अध्यक्ष गोपाल पौडेलले बताउनुभयो ।

बेनीमा रहेका ४५ वटा साना ठूला होटलका सबै कोठाहरु ‘बुक’ भएका छन् । एक वर्षपछि होटल ब्यवसाय पुरानै अवस्थामा फर्कीएकाले राहत महशुस भएको बेनी स्थित शिखर होटलका सञ्चालक कृष्णप्रसाद बरुवालले बताउनुभयो । बेनीमा एक रात बास बस्नका लागि प्रतिव्यक्ति एक हजार पाँच सय रुपैया आवश्यक पर्छ ।

स्थानीय यातायात ब्यवसायीको एकाधिकार तोडिएर बेनी–जोमसोम सडकमा यातायात आवागमन सहज हुनु र मुस्ताङको प्राकृतिक सौन्दर्यता, पृथक भुगोल र धार्मीक महत्वका बारेमा प्रचारप्रसार भएकाले पनि आन्तरीक पर्यटकहरु मुस्ताङ भ्रमणमा आउने गरेका छन् ।
जोमसोमका लागि बेनीबाट दैनिक आठ, पोखराबाट तिन, बागलुङबाट दुई वटा सार्वजनीक सवारी साधनका साथै संयौ पर्यटक, रिर्जभ र निजी गाडीहरु छुट्ने गरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले बताउनुभयो ।

काठमाडौ, पोखरा, चितवन, बुटवल, बिरगञ्ज लगायतका ठाउँबाट युवायुवती, कर्मचारी, शिक्षक, कर्मचारीहरु म्याग्दी हुदै मुस्ताङ भ्रमणका लागि आएका छन् । काठमाडौ पुतलीसडकका पुरुषोत्तम मित्तलले आन्तरीक पर्यटन प्रर्वद्धनका साथै पृथक भुगोलको अवलोकन र धार्मीक स्थल मुक्तिनाथको दर्शनका लागि परिवारका सदस्यसहित मुस्ताङ भ्रमणमा जान लागेको बताउनुभयो ।

सहज यातायातको सुबिधाका कारण मुस्ताङको भ्रमणमा जान लागेको मित्तलले बताउनुभयो । रासस


1 thoughts on “बेनीका होटल पाहुनाले भरिभराउ

Comments are closed.