विकल्प न्यूज/बेनी
चैत ३० गते ।
म्याग्दीको राम्चे गाविस ४ का ४२ वर्षीय होमबहादुर पुर्जा वि.स २०६५को बैशाख तिर आँखामा समस्या देखिएपछि उपचारका लागि पोखरा स्थित हिमालयन आँखा अस्पताल पुगेका थिए । आखा अस्पतालले रगत परिक्षण गर्नका लागि गण्डकी अस्पतालमा पठायो । रगत परिक्षणको रिपोर्ट आएपछि उनि छांगाबाट खसेजस्तो भए । जुन क्षण संझदा होमबहादुरका आँखा अहिले पनि रसाउँछन् । जतिबेला उनि आफूलाई एचआईभी संक्रमण भएको जानकारी पाए उनि जिवनदेखिनै निराश बनिसकेका थिए । तर उनलाई आईएनएफ पालुवामा कार्यरत लोकबहादुर बास्तोलाले गण्डकी अस्पतालको १२ नम्बर कोठामा राखेर परामर्श दिएपछि बाँकी जिवनलाई नराम्रो बाटोमा नलगाउने अठोट र साहसका साथ घर फर्कने निधो गरे ।
‘आँट गरेपनि पोखराबाट घर फर्कन मनै लागेन । अस्पताल देखि ट्याक्सी चढेर बागलुङ बसपार्क ओहोर दोहोर गर्दा एक दिनमा दश हजार रुपियाँ खर्च भयो । आत्महत्या गर्न महेन्द्रपुल सम्म पुगे । प्रहरीले रोकेपछि फर्कीए’ पुर्जा भन्छन ‘घरपरिवार सम्झिए । भावी सन्नतीलाई एआईभीबाट जोगाउने र संक्रिमीतलाई बचाउँने अभियानमा लाग्ने निर्णय गरेर पोखराबाट बेनीतर्फ हिडे ।’ बेनीबाट राम्चे जाने क्रममा मल्लाजको उकालोमा पुग्दा दुई वटै आँखाले देख्न छोडेपछि उनि श्रीमती र छोराछोरीलाई पनि बेनीमै बोलाएर उपचारमा लागे । रगत परिक्षण गर्दा श्रीमती सन्तुलाई पनि एचआईभी पोजेटिभ भेटियो । छोरी र छोरालाई भने सक्रमण छैन् । २०६० सालभन्दा अघि बेनीमा स्टेशनरी व्यवसाय गर्दा ब्यवहार बिग्रीएर गाउँ फर्कीएर भौतारीने क्रममा असुरक्षित ब्यवहार गर्दा आफुलाई संक्रमण भएको पुर्जाले बताए ।
धेरै मानिसहरु संक्रमित भएको थाहा पाएपछि सामाजिक असुरक्षाका कारण नखुलेको अवस्थामा पुर्जा लगायत केही व्यक्तिहरु सार्वजनीक भएर संक्रमीतको सेवा र नयाँ पुस्तालाई यसबाट बचाउँन लागिपरे । उनसंगै खुलेका धेरै संक्रमीतहरु अहिले जिल्लामा नदेखिए पनि पुर्जा हिम्मत र साहसका साथ विभिन्न संघर्ष गर्दै आफ्नो अभियानमा निरन्तर सक्रिय रहदै आएका छन् । बेनीमा उनले राष्ट्रिय एअचाइभी एड्स महासंघको जिल्ला शाखामा तिन महिना जागीर खाए । संस्थाको कार्यक्रम सकिएपछि आफ्नै नेतृत्वमा गुप्तसभा मार्गदर्शन सहयोगी समूह खोले २०६६ मा ।
संक्रमीतहरुलाई परामर्श दिने, रगत परिक्षण र औषधि सेवनका लागि सहजिकरण गर्ने र एचआईभी एड्स न्युनीकरणका लागि जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले खोलीएको उक्त संस्थामा संक्रमीत नभएकाहरु पनि आवद्ध भएर सहयोग गरेका थिए । आर्थिक स्रोतको अभावका कारण हाल बन्द भएको संस्थाको सम्र्पकमा म्याग्दीका ५० जना संक्रमीत रहेकोमा हाल २९ जनाले जिल्ला अस्पतालबाट एआरभी औषधि सेवन गरिरहेका छन् । सबै संक्रमीत औषधि सेवन गर्न नआएकोमा पुर्जा दःुखी छन् ।
उक्त संस्थाको पहलमा जिल्ला अस्पतालबाट एआरभी औषधि वितरण गर्ने सुबिधा, जिविसको सहयोगमा मासिक रुपमा औषधि सेवन गर्न आउनेहरुका लागि एक पटकमा एक सय ५० रुपैयाँ भत्ता, कावा कार्यक्रम मार्फत चार जना संक्रमीत बच्चालाई मासिक एक हजार रुपैयाँ उपचार खर्चको ब्यवस्था गराउनुका साथै विभिन्न ठाउँमा सरोकारवालाहरुको सहयोगमा चेतनामुलक कार्यक्रम गरिएको थियो । वि.स २०७१ मा जिविसको सहयोगमा आठ जना संक्रमीतलाई बाख्रा र कुखुरापालन गर्न दश हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको थियो । यातायात खर्च पर्याप्त नहुनु, बागलुङमा काबा कार्यक्रमको उपचार खर्च लिन जाँदा पाउने सुबिधा जतीकै खर्च हुनु र एआरभी औषधिले काम गरे नगरेको पत्ता लगाउन परिक्षणका लागि पोखरा जानुपर्दा संक्रमितलाई समस्या छ । यातायात खर्चका लागि कोषमा रकम बढाउने र जिल्लामै भाइरस लोडको सुबिधा भएमा संक्रमीतहरुलाई राहत मिल्ने पुर्जा बताउँछन् ।
संक्रमीत भएपछि बेनी बसाईका क्रममा पुर्जाले गाउँबाट आउने संक्रमीतहरुलाई आफ्नै कोठामा आश्रय दिए । मासिक ६ हजार तलबमा जिल्ला अस्पतालमा काम गर्ने श्रीमतीको कमाईमा निर्भर पुर्जाले गाउँबाट आउने संक्रमितलाई साग र पिठो लिएर आउन अनुरोध गर्दै पकाएर खान दिएका हुन् । खाद्य संस्थानले बिक्री गरेको गोदामको एउटा कोठामा बस्दै आएका पुर्जा चैत २४ गते आफ्नै जन्मथलो फर्कीएका छन् । संस्था बन्द भएको, महँगीले परिवार पाल्न गाहे भएको, बजारको दुषित वातावारणका कारण स्वास्थ्यलाई फाईदा नगर्ने भएकाले आफू र छोराछोरीको भविष्यका लागि गाउँ फर्कीएको पुर्जाले बताए । सरकारले स्वास्थ्य संस्था र समुदाय मार्फतनै एचआइभी सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने नीति लिएकाले अब त्यससंग सम्बन्धित संस्थाहरु चलाउन सम्भव नभएको पुर्जाको बुझाई छ ।
बेनीको माउन्ट एभरेष्ट आवाशिय उच्च माविमा हालसम्म निशूल्क रुपमा कक्षा १ सम्म अध्ययन गरेका छोरालाई साथै लिएर बाह् वर्षपछि घर फर्कीएका पुर्जाकी श्रीमती भने बेनीमै छिन् । उनिहरुको छोरीलाई गाउँमै दिदीले आश्रय दिएर राम्चेको देउराली निमावीमा पढाउने ब्यवस्था गरेकी छिन् । संक्रमीत भएको थाहा पाउनुअघि पुर्जाले करिब पाँच वर्ष पूर्णकालीन कार्यकर्ताको रुपमा माओवादीमा रहेर काम गरेका थिए । स्टेशनरी पसल गर्दा ब्यवहार बिग्रीएपछि एक वर्ष भौतारीएका पुर्जाले आफ्नो, देश र जनताको समस्या समाधान हुने अपेक्षा सहित माओवादी युद्धमा वि.स २०६० मा आवद्ध भएका थिए । माओवादीमा लाग्नु अघि उनि एमालेको राजनीतिमा कलाकारको रुपमा सक्रिय थिए ।
घारको मुक्तिमार्ग उच्च माविबाट दश कक्षाको टेस्ट पास गरेका भलिबल खेलाडी समेत रहेका पुर्जाले २०४७ सालको निर्वाचनमा सहिदकी आमा नाटकमा अभिनय गरेका थिए । २०६३ मा माओवादी निकट शिखर सांस्कृतीक परिवारको अध्यक्ष बनेका पुर्जा द्धन्द्धकालमा म्याग्दीका साथै स्याङ्जा, पाल्पा, गुल्मी, कास्की, अर्घाखाँची लगायतका जिल्लामा पनि लडाकुको रुपमा खटिएका थिए । वर्तमान गृहमन्त्री शक्तिबहादुर बस्नेत कमीसार र आपूर्तीमन्त्री गणेशमान पुन कमाण्डर रहेको चौथो डिभिजनमा तिन महिना भान्से भएर काम गरेका पुर्जा मन्त्रिद्धयले कस्तो खाना खान्छन भन्ने बारेमा अझै जानकारी रहेको बताउँछन् । पछिल्लो समयसम्म एमाओवादीमा आवद्ध उनि पार्टी र नेतृत्वले अपेक्षाकृत काम गर्न नसकेको भन्दै अब सामान्य सर्वसाधारण भएर बस्ने बताउँछन् । भाषण र आश्वासन भन्दा पनि ब्यवहार हेरेर आफूले दललाई सर्मथन गर्ने पुर्जाको भनाई छ ।
द्धन्द्धमा लागेर विभिन्न रमणीय ठाउँको भ्रमण र अवलोकन गर्न पाउनु सकारात्मक पक्ष भएको बताउने पुर्जा त्यसबेला आफुले गरेका केही गल्तीहरुको बारेमा आत्माआलोचान गर्छन् । पार्टीको निर्देशन मानेर घार खिवाङमा पढ्ने क्रममा आफू दुई वर्ष बसेको भिनाजुको घरमा खानतलासी गर्न गएको, घोडेपानीमा चिनीयाँ पर्यटकले मागेजति चन्दा दिन नसकेपछि ढिलाई हुँदा उनलाई पुनहिलबाट सुर्योदय हेर्ने अवसरबाट बञ्चित गराएको, गर्भवती हुँदा श्रीमतीलाई सेनाको घेरा तोड्दा भएको दुःख र गाउँका मनबहादुर बिक जस्ता होनहार युवाहरुलाई गुमाउँदाको क्षण सम्झदा उनलाई दुःख लाग्छ । पार्टीको निर्देशन पालना गर्दा आफूबाट भएको गल्ती, कमजोरीका कारण सम्बन्धित व्यक्ति तथा समुदायमा पर्न गएको असरप्रति उनले क्षमायाचना गरेका छन् ।
सहरको कोलाहलयुक्त वातावरणबाट टाढा रहेर आफ्नो स्वास्थ्यलाई थप असर नपरोस, छोरा छोरीको भविष्य र परिवारीक ब्यवस्थापनका लागि गाउँ फर्कीएका पुर्जाले बाँझीएर बसेको आफ्नो पुख्यौली जग्गाजमीनमा आलु, घाँस खेती, खरायो, बाख्रापालन गरेर जिविकोपार्जन गर्ने योजना बनाएका छन् । ऊनदेखि नुन सम्म जोडेर घर फर्कीएका उनि घरायसी ब्यवस्थापन गरेपछि श्रीमतीलाई पनि गाउँमा लैजाने योजनामा छन् । बागलुङ ताराखोला माईत भएकी सन्तुसंग होमबहादुरले वि.स २०५९ मा पार्टीको प्रस्तावमा देविस्थानको जुक्जामा सञ्चालित आधारभुत सैन्य तालीमका क्रममा जनवादी बिवाह गरेका थिए ।
बेनी बसाईका क्रममा गुप्तसभा मार्ग दर्शन सहयोगी समितिको कार्यालय रहेको कोठाको भाडा तिर्न नसकेर तिन घण्टा घरमालीकले थुनेको र पार्टी बिभाजन भएपछि तत्कालीन बैद्य समूहले छ महिनासम्म आफू बस्ने कोठामा बत्ति र खानेपानी आपूर्ती बन्द गराएकोमा उनि निकै दुःखी छन् । संक्रमीत भएपछि परामर्श र सहयोग गर्ने विभिन्न निकाय, व्यक्ति तथा संस्थाप्रती उनले आभार व्यक्त गरेका छन् । साहास र हिम्मत गर्ने हो भने संक्रमण भएपनि धेरै समय बाँच्न सकिने उदाहरण प्रस्तुत गरेका पुर्जा नयाँ पुस्तालाई सुरक्षित यौन ब्यवहार गर्न र संक्रमितलाई निराश नभएर औषधि उपचारको पहुँचमा आउन सुझाव दिन्छन् । सरकारी निकायबाट औषधि उपचारलाई सहज र सर्भसुलभ बनाउन पहल हुनुपर्ने उनको अपेक्षा छ । नवविकल्पको २९ औ संस्करणमा प्रकाशित प्रस्तुती सन्तोष गौतम, कुराकानीमा आधारीत