सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २९ चैत ।
म्याग्दीका विद्यालय बाहिर रहेका करिब तिन सय जना बालबालिकाको पहिचान गरिएको छ । पाँच देखि १३ वर्ष उमेर समूहका विद्यालय बाहीर रहेका बालबालीकाको संख्या जिल्लामा २८० जना रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
विद्यालयको पहुँच बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिकाको पहिचान गरि उनिहरुको व्यक्तिगत विवरण समेत संकलन गरिएको जिल्ला शिक्षा अधिकारी राप्रसाद अधिकारीले बताउनुभयो ।
स्थानीय विद्यालय मार्फत उनिहरुको घरपरिवारको अवस्था र व्यक्तिगत विवरण समेत संकलन गरिएकाले अबको नयाँ शैक्षिक सत्रमा विद्यालयको पहुँचमा ल्याउनका लागि भर्ना अभियान केन्द्रित गरिने भएको छ ।
गरिबी र पारिवारीक कारण विद्यालय भर्ना नहुने र भएपनि पढाईलाई निरन्तरता दिन नसक्ने समस्या देखिएको छ । उनिहरुलाई जिल्लामा सञ्चालित गैरसरकारी संस्था, परियोजनालाई अनुरोध गरेर छात्रवृत्ती, पोशाक, शैक्षिक सामाग्रीहरु सहयोग गरी विद्यालयको पहुँचमा ल्याएर टिकाईराख्न कार्यालयले पहल गर्ने जिशिअ अधिकारीले बताउनुभयो ।
सानै उमेरमा बिवाह गर्ने, वैदेशिक रोजगारीको आकर्षण, अभिभावकको न्युन आयस्रोत, शिक्षाको महत्व बुझ्न नसक्नु जस्ता कारणले निमावी तह उतिर्ण गरेपछि विद्यालय छाड्ने समस्या देखिएको छ । सबैभन्दा बढी रुममा २८ र मल्कवाङमा २७ जना बालबालिका विद्यालय बाहिर रहेका छन् ।
२०७१ मा आधारभुत तहको शैक्षिक सुनिश्चितता घोषणा गरिएको कुहुँ गाविसमा गत वर्ष ११ जना बालबालीका विद्यालय बाहिर रहेको भेटिएको छ । मराङ, राम्चे, दोवा, नारच्याङ, दाना, तातोपानी, पात्लेखेत, कुईनेमंगले, मुना, ताकम, बरंजा गाविस र बेनी नगरपालीकाको ११, १२, १३ र १४ नम्बर वडाका लक्षित बालबालीका सबै विद्यालयको पहुँचमा रहेका छन् ।
यसैबीच जिल्ला शिक्षा कार्यालयले हामी सवैको ईच्छा, सर्वसुलभ विद्यालय शिक्षा भन्ने नाराका साथ बैशाख महिनाभर जिल्लाभर विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाई उपलब्धीमा सुधार अभियान सञ्चालन गरिने भएको छ ।
पहिलो चरणमा बैशाख १४ गतेसम्म नियमित भर्ना हुन आउने बालबालिकालाई मुस्कान सहित स्वागत र भर्ना तथा १५ देखि ३० गतेसम्म घरदैलो अभियान मार्फत छुटेकालाई भर्ना गर्ने अभियान सञ्चालन गरिने शिक्षा कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले बताउनुभयो ।