सरोकारवाला निकाय के गर्दैछ ? पढ्न छाडेर मजदुर गर्नुपर्ने बाध्यतामा बालबालिका (फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २९ चैत । म्याग्दीमा बालबालिकाहरु विद्यालय छाडेर निकृष्ट श्रम गर्न बाध्य बनेका छन् । विद्यालयमा पढ्न छाडेर ज्याला मजदुरी गर्ने बालबालीकाहरु आधारभुत शिक्षाबाट बञ्चित हुनुका साथै उनिहरुको स्वास्थ्यमा असर परेको छ ।DSC02300

कानुनमा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई ज्याला मजदुरीको काममा लगाउन नपाउने व्यवस्था भएपनि म्याग्दी सदरमुकाम बेनी र आसपासका क्षेत्रमा संयौ जना बालबालीकाहरु जोखिमपूर्ण काम गरिरहेको भेटिन्छन् । घर तथा भवन, सडक, सिचाई, खानेपानी आयोजना, सवारी साधन र होटलहरुमा बालश्रमीकको प्रयोग बढेको छ । बेनी–मल्लाज–शालीजा सडक आयोजना निर्माणको काममा खटिएका बेनी नगरपालीका ८ का १५ वर्षिय मोहन मिजारले विद्यालय छाडेर काम गर्न आएको बताउनुभयो ।DSC02305

जामुनाखर्क उच्च माविको कक्षा ६ मा अध्ययन गर्ने मिजारले यसै वर्ष विद्यालय छाडेर श्रम गर्न थालेका हुन् । पर्खाल लगाउनका लागि ढुंगा फुटाउने, ट्याक्टरमा सामान लोड अनलोड गर्ने, बालुवा, गिट्टी र सिमेन्टको मसला तयार पार्ने काम गर्दै आएका मिजारले घरमा पढ्ने वातावरण नभएकाले विद्यालय जान छाडेर मजदुरी गर्न थालेको बताउनुभयो ।

सोही आयोजनामा काम गर्नका लागि साढे दुई महिनाअघि गोरखाबाट साथीहरुसंगै आएका १५ वर्षिय रामचन्द्र चेपाङले दैनिक ४५० रुपैयाँका दरले ज्याला पाउने गरेको बताउनुभयो । घरपरिवारको कमजोर आर्थिक अवस्था भएको कारणले कक्षा ६को वार्षिक परिक्षामा सहभागी हुने बेलामा विद्यालय छोडेर काम खोज्न म्याग्दी आइपुगेको चेपाङले बताउनुभयो ।

उक्त आयोजनामा काम गर्दै आएका करिब १५ जना बालमजदुरहरुले गरिबी, अभिभावकमा चेतनाको कमी, विद्यालयप्रती आकर्षण नहुनु, पढ्ने वातावरण नभएको र सानै उमेरमा बिवाह गरेकाले पढ्ने रहर भएपनि मजदुरी गर्न बाध्य भएको बताएका छन् । म्याग्दीको बेनी–गलेश्वर, बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–जोमसोम सडक, भवन तथा घर र खानेपानी लगायतका आयोजनाहरुमा पनि बालमजदुरको प्रयोग भएको छ ।DSC01683

स्थानीय स्तरमा गरिब तथा विपन्न समुदायका साथै भुकम्प प्रभावित गोरखा, धादीङ, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट बालबालीकाहरु अभिभावक र आफन्तको साथमा काम खोज्दै आउने क्रम बढेको निर्माण ब्यवसायीहरुले बताएका छन् । भोकै बस्नुपरेको भन्दै काम दिन अनुरोध गरेपछि बाध्य भएर काममा लगाउनुपर्ने अवस्था रहेको निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

निर्माण क्षेत्रको अलावा कतिपय बालकहरु लहलहैमा लागेर सवारी साधन, ग्यारेजको काममा संलग्न हुने गरेका छन् । लामो तथा छोटो दुरीका जिप, ट्याक्टर, माईक्रोबस, ट्रकमा सहयोगीको रुपमा काम गर्ने धेरैजसो बालकहरुले सवारी चालक बन्ने सपना देखेका हुन्छन् । होटल तथा रेष्टुरेष्टमा भाडाँ माझ्ने काम गर्ने बालबालीकाहरु भने विद्यालय भर्ना भएर पढाईलाई पनि निरन्तरता दिएका छन् ।

विभिन्न कारणले श्रम गर्न बाध्य बालबालिकाको पुर्नस्थापना र संरक्षण गर्न नसक्दा बालबालीकाहरुलाई श्रमबाट मुक्त बनाउन समस्या भएको महिला तथा बालबालीका कार्यालयका बाल संरक्षण निरिक्षक भुवन मल्लले बताउनुभयो । श्रममा संलग्न बालबालिकालाई पुनस्थापना र संरक्षण गर्ने योजना तथा कार्यक्रम र निकायको अभाव हुँदा बालश्रम न्युनीकरण गर्न समस्या भएको मल्लले बताउनुभयो । महिला तथा बालबालिका कार्यालय म्याग्दीले जिल्लामा बालबालिकाको पक्षमा काम गर्न नसकेको गुनासो वढ्दै गएको छ ।