बेनी–अर्थुङ्गे सडक आयोजनाले गती लिन सकेन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ चैत ।
म्याग्दीको बेनी–पाखापानी सडक आयोजना अन्तरगत पहिलो चरणको बेनी–अर्थुङ्गे देउराली खण्डको कामले गति लिन सकेको छैन् ।

भुकम्प, नाकाबन्दी र ईन्धन अभावका कारण प्रभावित बनेका अन्य विकास आयोजनाहरुको कामले तिब्रता पाएपनि सदरमुकाम बेनीदेखि मध्य म्याग्दीका बस्तीहरुलाई जोड्ने उक्त सडकको प्रगति सुस्त देखिएको छ ।DSC02612

आगामी बैशाख १६ गतेसम्म अन्तिम सम्झौताको म्याद रहेको आयोजनाको भौतिक र वित्तिय प्रगती सन्तोषजनक नरहेको आयोजना प्रमुख जिल्ला ईञ्जिनियर ओमबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार दुई करोड ४८ लाख रुपैयामा सम्झौता भएको आयोजनामा हालसम्म एक करोड ४३ लाख रुपैया खर्च भएको छ भने भौतिक प्रगती ६२ प्रतिशत रहेको छ ।
देशको परिस्थिती सहज भएको अवस्थामा पनि ठेकेदारले ढिलासुस्ती र कामलाई तिब्रता दिन नसकेपछि ताकेता गरिरहेको जानकारी दिदै ईञ्जिनियर केसीले अब कारबाही प्रक्रियामा जाने तयारी भएको बताउनुभयो । निर्धारीत समयमा ठेकेदारले काम सम्पन्न नगरे दैनिक जरिवाना तिराउने ब्यवस्था रहेको छ ।

जिविस म्याग्दीद्धारा सञ्चालित विकेन्द्रित ग्रामिण पुर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) मार्फत कच्चि अवस्थामा रहेको बेनी देखि अर्थुङ्गे देउराली सम्मको तिन किलोमिटर १८० मिटर सडकलाई स्तरउन्नती गर्न शिवशक्ति नाना जेभी काठमाडौसंग डेढ वर्षअघि सम्झौता भएको थियो ।

जग्गा प्राप्तीमा बिवाद, भुकम्प, नाकाबन्दी, ईन्धन र निर्माण समाग्रीको अभावले गर्दा कामलाई तिब्रता दिन नसकेपनि निर्धारीत समयमा मुख्य काम पुरा हुने ठेकेदार कम्पनीका प्रतिनिधि बिपीन खड्काले दावी गर्नुभयो । सडकलाई ६ मिटर फराकीलो बनाउने, नाली निर्माण, ग्याविन पर्खाल लगाउने, घुम्ती तथा कठिन मोडमा ढलान र ग्राभेल गर्ने उद्देश्यले आयोजना सुरु भएपनि उल्लेख्य काम नहुँदा सर्वसाधारणलाई सास्ती भएको बेनपा ८ का गंगादत्त शर्माले गुनासो गनुभयो ।

यसैबीच बेनी देउराली खण्डको सडक निर्माण कार्यमा खटिएका मजदुरहरुले गत मंसिर महिनादेखि अहिलेसम्म एक रुपैया पनि ज्याला नपाएको गुनासो गरेका छन् । पेटी ठेकेदार डिलबहादुर तामाङले करिब बिस जना मजदुरको दुई लाख रुपैया भन्दा बढी ल्याला नदिइकन भागेको र पछिल्लो पटक काममा लगाउने अर्को ठेकेदार कवी श्रेष्ठले पनि ल्याला नदिदा आफूहरुको बिचल्ली भएको मजदुर बिजय तामाङले बताउनुभयो ।

उक्त आयोजनाका ठेकेदार खड्काले ज्यामीसंग कुनै सम्र्पक, सम्झौता नभएको बताउँदै आफूले कामको जिम्मा दिएको व्यक्तिलाई पहिलेनै भुक्तानी दिइसकेको प्रतिक्रिया दिनुभयो । उहाँले आफूहरुले जम्मा गरेको ढुंगा अर्थुङ्गेका बासिन्दाले घरघरमा लगेर राखेकाले पर्खाल लगाउने काममा ढुंगाको अभाव भएको आरोप लगाउनुभयो ।