म्याग्दीमा जमिन बाँझो राख्नेलाई जरिवाना गरिने

विकल्प न्यूज/बेनी
चैत २८ गते ।
म्याग्दीमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना गरिने भएको छ । हालै सम्पन्न २४ औ जिल्ला परिषद्ले खेतीयोग्य जमिन बाँझो राख्ने समस्या न्युनीकरणका लागि यस्तो निर्णय गरेको हो ।

कृषियोग्य जमिनको बढीभन्दा बढी उपयोग गर्दै जमिन बाँझो राख्ने प्रबृतिलाई निरुत्साहीत गर्न कडा नितिगत ब्यवस्था गरिएको जिविसले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयको सिफारीसमा सर्वदलीय सहमतीमा जिल्ला परिषद्ले खेतीयोग्य जमिनको प्रयोग बढाउन बाध्यकारी नितीगत निर्णय गरेको बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो ।

jamin bajo
तस्विर ः म्याग्दीको दोबामा राखिएको बाँझो जमिन

खेतीयोग्य जमिनको उपयोग गरि कृषि उत्पादनमा वृद्धी गर्ने, आयात घटाउने र कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषि विकास मन्त्रालयले ल्याएको नयाँ कार्यक्रम कार्यान्वयन गर्न जिल्ला तहबाट पहल गरिएको अधिकृत रिजालले बताउनुभयो । उहाँका अनुसार नीतिगत ब्यवस्था कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा कृषकहरुलाई सचेत बनाउने र प्रचारप्रसार गरीने भएको छ ।

आगामी वर्षदेखि जमिन बाँझो राख्नेलाई स्थानीय स्तरमा जरिवाना गर्ने सम्मको कदम चाल्ने योजना रहेको अधिकृत रिजालले बताउनुभयो । आफैले जग्गामा खेतीबाली लगाउन नसक्नेले नजिकको आफन्त, छिमेकीलाई अधियामा भएपनि खेती गर्न दिनुपर्नेछ । पहिलो चरणमा सिचाई सुबिधा भएको जमिनलाई प्रयोगमा ल्याउन जोड दिइएको अधिकृत रिजालले बताउनुभयो ।

३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन रहेको म्याग्दीमा ३६.८१ प्रतिशत बाँझो देखिएको छ । कुल खेतीयोग्य जमिनको ६३.१९ प्रतिशत अथवा १९ हजार ४९८ हेक्टर क्षेत्रफल जमिन मात्रै प्रयोग भएको छ । जनशक्ति, सिचाई सुबिधाको अभाव, प्राकृतिक प्रकोपबाट हुने क्षत्ती तथा लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि कृषकको खेतीतर्फ रुची घटेको छ ।