फेसबुकको सहायताले नौमती बाजा सामाग्री खरिद

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ चैत ।
naumati_bajaसूचना, सन्देश आदानप्रसाद र अभिव्यक्ती सार्वजनीक गर्नका लागि विश्वभर लोकप्रिय बनेको सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरेर म्याग्दीको मराङ गाविस ३ कल्लेनी गाउँका बासिन्दाले सामाजिक काम गरेका छन् ।

उनिहरुले फेसबुकको सहायताले आर्थिक स्रोत जुटाएर नौमती बाजा खरिद गरि परम्परागत संस्कृती जगेर्ना गर्न अग्रसर भएका हुन् । मगर समुदायको बाहूल्य बसोबास रहेको कल्लेनी गाउँमा नौमती बाजा र बाजा बजाउने जनशक्ति नभएपछि स्थानीयबासीले फेसबुक मार्फत सन्देश पठाएर देश बिदेशमा रहेका मराङबासीलाई अनुरोध गरेका थिए ।

यसैक्रममा अस्टे«लीयामा रहनुभएका मराङका विश्व केसीले आफू अध्यक्ष रहेको ट्रस्ट मराङ भन्ने संस्था मार्फत कल्लेनीमा नौमती बाजाको सटे, पोशाक खरिद र ढुवानी गर्न एक लाख ८४ हजार ७२५ रुपैया सहयोग गर्नुभएको वडा नागरीक मञ्चका संयोजक खगिन पुनले जानकारी दिनुभयो ।

सहयोगमा बाजा र पोशाक खरिद गरेपछि कल्लेनीका मगर युवाहरु नौमती बाजा प्रशिक्षणमा जुटेका छन् । नयाँ बर्षको दिनदेखि एक महिने नौमती बाजा प्रशिक्षण सञ्चालन गर्ने तयारी भएको नौमती बाजा समितिका संयोजक योगेन्द्र घर्तीले बताउनुभयो । ताकम हिलापोखरीका कुलप्रसाद र खगेन्द्र परियारले बाजा बजाउने तालीम दिने जनाइएको छ ।