विकल्प न्यूज\बेनी
चैत १० गते ।
जिल्लाको रघुगंगा गाउँपालिका वडानम्वर ३ स्थित पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला (ल्याव) सेवा सुरु भएको छ । गाउँपालिकावासीहरुलाई गाउँमै सुविधान दिन गाउँपालिकाले स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरु गरेको हो ।
प्रयोगशालामा बेग,भगवती,पिप्ले,दग्नाम र चिमखोलाका स्थानीयवासीहरु लाभान्वित हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । अन्तराष्ट्रिय क्षयरोग दिवसको अवसरमा विहिवार गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो ।
ल्याव सेवाबाट रगत, पिसाव, खकार कोरोना एन्टिजेन, एचआईभी र हेपाटाइटिस लगायतको परिक्षण हुने डाक्टर सन्तोषप्रसाद बोहराले बताउनुभयो । थाईराईडबाहेक रगत र पिसावबाट थाहा पाउने सबै प्रकार रोगहरु पहिचान गर्न सकिने उहाँले बताउनुभयो । गाउँपालिकाले सबै वडाका नागरिकलाई आधारभूत स्वास्थ्य उपचार दिएको पालिका अध्यक्ष भण्डारीले बताउनुभयो । पिप्लेसंगै पाखापानीमा ल्याव सेवा यसै बर्षमा सुरु गर्ने गरी सामान र जनशक्ति ब्यवस्थापन गरिसकेको समेत उहाँको भनाई थियो ।
पिप्लेमा अस्पताल बनाउनका लागि केन्द्र र प्रदेश सरकारसंग बजेट माग गरिएको उहाँको भनाई थियो । ल्यावसेवा संगसंगै पिप्लेमा एक्सरे सेवा संचालन गर्नका लागि भवन निर्माण सुरु गरिएको पालिका अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले स्वास्थ्य, शिक्षा खानेपानी लगायतका जनताका अतिआवश्यक सेवाहरुलाई मध्यनजर गरेर सबै वडामा सेवाहरु विस्तार भईरहेको बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले गाउँपालिकाको आर्थिक क्षमताअनुसार स्वास्थ्य सेवाहरु थप गरीरहेको बताउनुभयो कार्यक्रममा रघुगंगा मावि पिप्लेका प्रअ रमेशसिङ ठकुरीले गाउँमा थपिएको स्वास्थ्य सेवाहरु आर्थिक रुपमा कमजोर भएका परिवारलाई राहत पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य पिप्ले स्वास्थ्य चौकीका प्रमुख शिवप्रसाद पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा डाक्टर बोहरा, गाउँपालिका स्वास्थ्य शाखा संयोजक टिका शाही, नर्स, स्वास्थ्य स्वयमसेवीका लगायतको उपस्थित रहेको थियो ।