सिण्डीकेटको प्रभाव कम भएपछि सवारी आवागमन सहज

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २६ चैत ।
ट्याक खुलेको एक दशकपछि हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसंग जोड्ने बेनी–जोमसोम सडकमा स्थानीय यातायात ब्यवसायीको एकाधिकार तोडीन थालेको छ ।
उच्च सरकारी अधिकारी, स्थानीय प्रहरी प्रशासनको पहल, पर्यटन तथा होटल ब्यवसायी र नागरीक समाजबाट सिर्जना भएको तिब्र दवावका कारण वि.स २०६३ मा ट्याक खुलेको ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा पछिल्लो समय निर्बाध रुपमा सवारी सञ्चालन हुन थालेको छ ।

निजी र पर्यटक गाडीलाई पूर्ण रुपमा सञ्चालन गर्न दिएका स्थानीय यातायात ब्यवसायीले अन्य ठाउँबाट रिजर्भमा आउने सार्वजनीक गाडीहरुलाई भने बिच, बिचमा रोकेर गन्तब्यमा पुग्न नदिने र यात्रुलाई दुख दिने क्रम केही कम भएपनि पूर्ण रुपमा रोकीएको छैन् । muktinath-yatayat-mustang
अघिल्लो वर्षसम्म म्याग्दी र मुस्ताङका यातायात ब्यवसायीले अन्य कुनै पनि सवारी साधनलाई बेनी भन्दा माथि जान दिने गरेका थिएनन् । सबै किसीमका सवारी साधनलाई सञ्चालन गर्न सरकारले निर्देशन दिएकाले बाटोमा कुनै अवरोध भए प्रहरीलाई गुनासो गरेको अवस्थामा गन्तब्यमा पुराउने गरिएको जिल्ला ट्राफिक प्रहरी म्याग्दीका प्रमुख रामचन्द्र क्षेत्रीले बताउनुभयो ।

विगतमा बदनामी कमाएको बेनी जोमसोम सडकमा स्थानीय यातायात ब्यवसायीको एकाधिकार तोडीन थालेपछि आन्तरीक तथा बाह्य पर्यटकहरुलाई सहज हुनुका साथै आगमन पनि बढेको मुस्ताङ होलीडे ट्राभलका सञ्चालक प्रेम तुलाचनले बताउनुभयो ।

स्थानीय यातायात ब्यवसायीले पनि प्रतिस्पर्धा हुन थालेपछि बेनी र जोमसोमका साथै बागलुङबाट दैनिक तिन वटा र पोखराबाट ६ वटा माइक्रोबस सिधै जोमसोमका लागि छुटाउने गरेका छन् । बेनीबाट प्रत्येक घण्टामा स्तरीय सुबिधायुक्त गाडी छुटाउने तयारी गरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिले जनाएको छ ।