पैँचो पाएको बाख्रा आयआर्जनका लागि बरदान बन्यो

धिरन खत्री/विकल्प न्यूज
म्याग्दी २६ चैत  ।Doba Bakhrapalan (3) म्याग्दीको दोवाका कृषकहरुले बाख्रापालनलाई आयआर्जनको माध्यम बनाएका छन् ।
जिल्ला पशु सेवा कार्यालयले बाख्रा पैचो कार्यक्रम अन्तरगत उपलब्ध गराएको बाख्रा दोवाका कृषकहरुको आयआर्जनका लागि बरदान बनेको हो । वि.स २०६६ सालमा तिन वटाका दरले बाख्रा पैचा पाएका दोवाका पचास धरधुरी कृषकले अहिले बर्षेनी दर्जनौ बाख्रा बेचेर आम्दानी गरिरहेका छन् ।

दुई वर्षपछि आफूले पाएको बाख्रा फिर्ता गरेका दोवाको शिवजी बाख्रापालन कृषक समूहका सदस्यहरुको घरमा अहिले चारपाँच वटा देखि सय वटासम्म बाख्रा छन् । ५२ वटा बाख्रा पालेका दोवा ६ का शेरबहादुर गर्बुजाले आयआर्जनको अन्य विकल्प नभएको गाउँमा बाख्रापालन प्रभावकारी बनेको बताउनुभयो ।

उहाँले वर्षमा दश वटाको हाराहारीमा खसीबोका बेचेर एक लाख भन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो । गाउँ नजिकै प्रशस्त जंगल र चरन क्षेत्र भएको तथा अनुकुल हावापानी तथा सजिलो भएकाले दोबाका कृषकहरुले बाख्राको संख्या बढाएर ब्यवसायीक बनेका हुन्् ।Doba Bakhrapalan (2)

तिन वटा बाख्राबाट सुरु गरेका दोवाका भुपेन्द्र गर्बुजासंग ७०, किरन पुर्जासंग ९०, कृष्ण पुर्जासंग ८० र मनिराज पुनको गोठमा ४० वटा बाख्रा छन् । गाईभैसी जस्तो धेरै लगानी र स्याहार सुसार गर्न नपर्ने, गाउँघरमा पाइने गहुँ, जौ, उवा, मकै आदी खाद्यान्नलाई दानाको रुपमा खुवाउन सकिने र बिक्री गरेर छिटो आम्दानी लिन सकिने भएकाले बाख्रापालन प्रभावकारी बनेको दोवाका कृषकहरुको भनाई छ ।

यसैबीच ब्यवसायीक बाख्रापालन गरेका दोवाका कृषकहरुले भनेको समयमा प्राबिधिक सेवा पाउन कठिनाई भएको गुनासो गरेका छन् । दाना, भगवती र घारामा रहेको पशु सेवा केन्द्र टाढा भएको, औषधि नपाउने हुँदा बाख्राको स्वास्थ्यमा सामान्य समस्या देखिएको अवस्थामा पनि प्राबिधिक सेवा तथा औषधीका लागि बेनी पुग्नुपर्ने अवस्था रहेको कृषकहरुले गुनासो गरेका छन् । बाख्रापालन सम्बन्धि तालीम, घुम्ती प्राबिधिक सेवा र औषधिको ब्यवस्था गरेमा राहत मिल्ने कृषकहरुको अपेक्षा छ ।