म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं साधारणसभा

विकल्प न्यूज\बेनी
फागुन २९ गते ।


म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले गर्नुभएको हो । उहाँले उद्योगी व्यवसायीलाई गाउँपालिकाले संरक्षण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले सुरुवातदेखि नै उद्योगी व्यवसायीको हितमा केन्द्रित भएर काम गर्दै आइरहेको बताउनुभयो ।

व्यवसायीहरुले राज्यको कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले गाउँपालिकाले कृषि उत्पादन र पशुपालनलाई जोड दिएर अनुदान पनि प्रदान गरेको बताउनुभयो । सिमित बजेटका बाबजुद वडाहरुले सीपमुलक तालिमहरु संचालन गरेको उल्लेख गर्नुुभयो । दर्ता नभएका व्यवसायीहरु दर्ता गरेर राज्यको दायरामा आउन उहाँले आग्रह गर्नुभयो ।

‘सरकारले व्यवसायीको उत्पादनलाई प्रवद्र्धन गर्छ,व्यवसायीलाई संरक्षण र आवश्यक परेको अवस्था सहयोग पनि गर्छ । तर,व्यवसायीहरुले पनि राज्यको कानुनी प्रक्रियालाई पालना गर्नुपर्दछ,मर्यादित र अनुशासित बन्नुपर्छ,’उहाँले भन्नुभयो । कोभिडको कारण देशमा आर्थिक ,भौतिक र मानविय क्षति भएको उल्लेख गर्दै उद्योगी व्यवसायी र सरकार विचको सहकार्यमा विना अर्थतन्त्र चलायमान हुन नसक्ने बताउनुभयो । ।

उहाँले गाउँपालिका व्यवसायीहरुको लागि दर्ता प्रक्रिया र कर सम्बन्धी तालिम संचालन गरे पनि प्रभावकारी नभएको बताउनुभयो । पर्यटन प्रवद्र्धनको लागि गाउँपालिकाको सहयोगमा गत बर्ष महोत्सव संचालन गर्ने तयारी भएपनि कोभिडका कारण स्थगित भएको जानकारी दिनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले संघ,प्रदेश र स्थानीय सरकारले उद्योगी व्यवसायीलाई उपेक्षा गरेको बताउँदै कानुन अनुसार आत्मसम्मानको साथ व्यवसाय गर्ने बातावरण सिर्जना गरिदिनुपर्नेमा जोड दिनुभयो । उहाँँले उद्योगी व्यवसायी पनि राज्यको कानुनी दायरामा आउनुपर्ने बताउनुभयो । वडा अध्यक्ष सन्तोष सुवेदीले संघियता अनुसार स्थानीय तहलाई सबै अधिकार प्राप्त नहुँदा व्यवसायीहरुलाई सेवा प्रदान गर्न नसकिएको बताउनुभयो ।

कार्यक्रममा मालिका इकाईका सभापति लेकबहादर पुनले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विकास निर्माण,व्यवसायीहरुको हकहित र आपतकालिन अवस्थामा इकाईले सहयोग गर्दै आइरहेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुलाई स्थानीय तहबाट सेवा सुविधा प्रदान गर्ने उद्धेश्यले गाउँपालिकाको सात वटै वडामा निकट भविष्यमा संघको बजार इकाई उपसमिति गठन गर्ने योजना रहेको बताउनुभयो । साथै उहाँले कोभिडबाट व्यवसायमा ठुलो असर परेको बताउँदै सरकारले राहतको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

इकाईका पुर्व सभापति मोतिराज गौतम,मंगला इकाईका अध्यक्ष राजु पाण्डे,पश्चिम नेपाल सहकारीका आर्थिक प्रवन्धक मेघराज शर्मा ,हुलाकचोक टोल सुधार समितिका अध्यक्ष शेरबहादुर पुन लगायतले बोल्नुभएको थियो । इकाईका सचिव अमृत सापकोटाले संचालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष बेदिराम सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष खड्क छन्त्यालले समापन गर्नुभएको थियो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघले हितकोष रकम हस्तान्तरण गरेको थियो । यसैगरी कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्य, द्धितिय उपाध्यक्ष लिलाराम गौतम लगायत स्थानीय व्यवसायीको सहभागिता रहेको थियो ।