कागबेनीमा पितृ तर्पण दिने भक्तजनको घुइँचो

२६ चैत, मुस्ताङ ।

 मुस्ताङको कागबेनीमा पितृ तर्पण र स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । नजिकिँदो चैतेदसैँ पर्वका कारण देशका विभिन्न भागबाट हजारौँ भक्तजन पूजापाठका लागि यहाँ आइपुगेका हुन् ।

कागखोला र कालीगण्डकीको दोभान कागबेनीमा पितृ तर्पण गरे दिवङ्गत आफन्तले सुख र मुक्ति पाउने जनविश्वास छ । स्नान र पुजापाठका लागि वर्षको दुईपटक हिन्दू धर्मावलम्बीको घुइँचो लाग्ने मुक्तिनाथका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । ‘विजया दशमीको सोह्रश्राद्ध र चैते दसैंको अवधिमा यहाँ ठूलो सङ्ख्यामा धार्मिक पर्यटक आउने गरेका छन्, पितृ उद्धार नै भक्तजनको मुख्य उद्देश्य हो’, उनले भनेKagbeni-Mustang

कागबेनीमा पछिल्लो समयमा स्नान र तर्पणका लागि व्यवस्थित आश्रयस्थल निर्माण गरिएका छन् । केही वर्षअघिसम्म त्यहाँ पुग्ने भक्तजन खुल्लाचौरमा रात कटाउन बाध्य हुनुपर्ने भए पनि अहिले भने व्यवस्थित धर्मशाला बनाइएको छ भने कागबेनीमा व्यवस्थित होटल पनि सञ्चालनमा रहेका छन् । बिहान ४ बजेदेखि दिनभर नै स्नान र तर्पण गर्नेको घुइँचो देख्न सकिन्छ । कागबेनी पुग्ने अधिकांश भक्तजन मुक्तिनाथ दर्शन गर्न जाने गरेका छन् ।

गत वैशाख १२ गतेको भूकम्पपछि विजयादशमीको सोह्रश्राद्धमा एकदमै न्यून मात्रामा भक्तजन कागबेनी पुगेका थिए । कागबेनीका पुजारी हरिप्रसाद शर्माले भक्तजनको सङ्ख्या उल्लेख्य रुपमा बढेको बताए ।

‘हामी पाँच-छजना पुजारीलाई पनि पूजा गर्न भ्याइनभ्याई भएको छ, भूकम्पको त्रास कम हुनु र नाकाबन्दी सहज भएपछि भक्तजनको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ’, उनले भने । आजसम्म करिब आठ हजार भक्तजनले कागबेनीमा स्नान र पूजापाठ गरिसकेको उनको भनाइ छ । रासस