दरबाङमा एसएलसी दिने विद्यार्थी बसेको घरमा आगोलागी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २६ चैत ।
म्याग्दीको दरवाङमा एसएलसी दिन गाउँबाट आएका विद्यार्थीहरु बसेको एउटा घरमा शुक्रबार बिहान आगोलागी भएको छ ।

जनप्रिय उच्च मावि परिक्षा केन्द्रमा एसएलसी दिन आएका अमरज्योती मावि रुम डाँडागाउँका विद्यार्थीहरु बसेको मेखबहादुर पुनको घर आगोलागीबाट ध्वस्त भएको हो । बिहान करिब आठ बजे विद्युत चुहावट भई आगोलागी हुँदा दुई तले घरमा रहेको सबै सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घरका लत्ताकपडा, अन्नको साथै एसएलसी दिने विद्यार्थीहरुको पाठ्यपुस्तक लगायतका सामाग्रीहरु आगोले जलेको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । जनप्रिय उच्च मावि नजिकै रहेको उक्त घरमा ६६ जना एसएलसी दिने विद्यार्थी बस्दै आएका थिए ।aago

परिक्षा केन्द्रको नजिकै रहेको घरमा आगोलागी भएका कारण जनप्रिय उच्च माविमा शुक्रबारको एसएलसी ५५ मिनेट ढिलागरी सुरु भएको प्रनाउ खड्काले बताउनुभयो । प्रहरी, स्थानीयबासीन्दा र विद्यार्थीहरुले आगोलागी नियन्त्रणमा लिएका थिए । यसै विच आजै विहान जिल्ला प्रशासनमा वसेको विपद् व्यवस्थापन समितिको वैठकले आगोलागीबाट पीडित बनेका विद्यार्थीहरुलाई माहिला तथा बालबालिका कार्यालय म्याग्दीले घर सम्म पुग्नका लागि प्रति विद्यार्थी पाँचसयका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । साथै क्षतिको विवरण आएपछि विद्यार्थीहरुलाई अन्य सहयोग गरिने प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताउनुभयो ।