बेनीमा प्रशासनद्धारा बजार अनुगमनलाई निरन्तरता

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २५ चैत ।
जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिएको छ । गत सोमबार तरकारी तथा फलफुल पसल र ग्याँस गोदामहरुलाई केन्द्रित गरेर अनुगमन गरेको टोलीले बिहीबार खाद्यान्न र ग्यास बिक्री पसलहरुको निरिक्षण गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको नेतृत्वमा प्रहरी, नगरपालीका कार्यालय र उपभोक्ता हकहित मञ्चको टोलीले बेनीका १० वटा पसलहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा पसलहरुले साईनबोर्ड नराखेको, मूल्यसूची अद्यावधिक नगरेको, फेन्सी र भाडा पसलबाट पनि ग्यास बिक्री भएको तथा ग्याँस लगेकाहरुको व्यवस्थित अभिलेख नराखेको पाइएको सहायक प्रजिअ आचार्यले जानकारी दिनुभयो ।DSC02331

सोमबार अनुगमन टोलीले ग्याँस बिक्रेताहरुलाई ग्याँस खरिद गर्ने उपभोक्ताहरुको विवरतण उद्योग वाणिज्य संघ मार्फत उपलब्ध गराउन निर्देशन दिएको थियो । तर धेरै बिक्रेताहरुले निर्देशन अनुसार विवरण नराखेको पाइएको छ । खाद्य र ग्याँस पसलका नमुनाका रुपमा अनुगमन गर्दा बजारमा चलेको हल्लाजस्तो कैफीयत नभेटिएको आचार्यले बताउनुभयो ।
कालोबजारी, कृतीम अभाव, गुणस्तरहीन र मिसावट खाद्यवस्तुको बिक्री वितरण नियन्त्रण गर्दै उपभोक्ता र ब्यवसायीलाई सचेत बनाउन बजार अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।