जोडियो तल्लो र माथिल्लो मुस्ताङ

सन्तोष पोखरेल
 पोखरा- चैत २५ गते ।
 हिमालपारिको जिल्ला मुस्ताङ सदरमुकाम जोमसोम र माथिल्लो क्षेत्र लोमान्थाङ जोड्ने सडकले पूर्णता पाएको छ। सडकको सबैभन्दा अप्ठेरो भाग समर–भियना भीरको करिब ६ सय मिटर मर्मतपछि सहजै लोमान्थाङ पुग्न सकिने भएको हो।

मोटर पुर्या्उन जोमसोम–लोमान्थाङ खण्डमा ७ वर्षअघि नै ट्रयाक खुलाए पनि समर–भियनाकोे भीरमा गाडी वारपार गर्न नसक्दा सम्पर्क टुटेको थियो। ट्रयाक खुलेलगत्तै मुस्किलसाथ पार गराएइका केही जिप लोमान्थाङ क्षेत्रमा गुड्दै आए पनि गाडीको आउजाउ रोकिएको थियो। कालिगण्डकी नदीको वैकल्पिक मार्गबाट हिउँदताका लोमान्थाङसम्म गाडी उक्ले पनि वर्षामा नदी बढ्दा गाडी गुड्दैनथे। समर–भियनाको भीरले तल्लो र माथिल्लो मुस्ताङलाई सडकको पहँुचबाट छुट्याउँदै आएको थियो।

स्थानीय विकास मन्त्रालयअन्तर्गत ग्रामीण पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना (आरआरआरएडडिपी) ले सडक खने पनि भुक्तानीमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि भीरको खण्ड मर्मत रोकिएको थियो।

मुस्ताङका स्थानीय विकास अधिकारी हरिप्रसाद बास्तोलाले ६ सय मिटर सडक बनेपछि तल्लो र माथिल्लो मुस्ताङ जोडिएको बताए। ‘दूरी थोरै भए पनि जोमसोम–लोमान्थाङ सडकले जोड्न सकिएको थिएन,’ उनले भने। जोमसोम–लोमान्थाङको ९९ किलोमिटर खण्डको सबैभन्दा अप्ठेरो समर–भियनाको भीरमा गाडी नगुड्दा ती समर पुगेर रोकिन्थे। यात्रु हिँडरे भीर पार गरेपछि भियना पुगेर अर्काे गाडीमा लोमान्थाङ जान्थे।musatang Road

बास्तोलाका अनुसार कोरला नाका जोड्ने सडकखण्डले पूर्णता पाएको छ। ‘कोरलानाकासँग सडक जोडेका छौं,’ उनले भने, ‘स्थायी सडक बल्ल बनेको छ।’ ६ सय मिटर सडक मर्मत गर्न ठूलै कसरत गर्नुपरेको उनले बताए। ‘अख्तियारले रोकेको सडकलाई राजनीतिक दल र प्रशासनको दबाबपछि खुलाउने अनुमति पायौं,’ उनले भने। सडक फराक बनाउन सेना, प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयवासी खटेका थिए।

सडक मर्मत गरेको जोमसोमस्थित भीमदल गणका गणपति अर्जुन बस्नेतले अब कोरला नाका जोडिएको बताए। ‘कठिन परिश्रमले भीरको बाटो खुलाउन सकेका छौं,’ उनले भने, ‘चट्टाने भीर फुटाएर सडक बनाउनु कम्ती चुनौतीपूर्ण थिएन।’

जोमसोमबाट २३ किलोमिटरमा समर आउँछ। त्यहाँबाट ६ सय मिटर भीर पार गरेपछि भियना पुगिन्थ्यो। भियनाबाट करिब ७६ किलोमिटर दूरी पार गरेपछि लोमान्थाङ पुगिन्छ।

लोमान्थाङका समाजसेवी इन्द्रधारा बिष्टले जोमसोम–लोमान्थाङ सडक स्थायीरूपमा बल्ल जोडिएको बताए। तिब्बत जोड्ने कोरला नाका खोल्न सरकारले चासो दिएपछि वर्षाैंदेखिको अवरोध खुलेको उनले बताए।

 अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का संरक्षण अधिकृत सन्तोष शेरचनका अनुसार जोमसोमबाट लोमान्थाङ जाने दुईवटा बाटो छन्।
   जोमसोमबाट कागबेनी, छुसाङ, चैले हुँदै कालिगण्डकी नदी पार गरेर धेयखोलाबाट चराङ निस्केर लोमान्थाङ पुग्न सकिन्छ। वर्षामा नदीमा पानी बढ्दा यो सडक बन्द हुन्थ्यो। लोमान्थाङ पुग्ने अर्काे मार्ग जोमसोमबाट कागबेनी, छुसाङ हुँदै चैले, समर, भियना, घमी भएर चराङ पुगेर लोमान्थाङ जोडिन्थ्यो। तर, समर–भियनाकोे चट्टाने भीरमा गाडी नगुड्दा यातायात सहज थिएन। ‘समर–भियना भीरको बाटो भएर गाडी गुड्नु लोमान्थाङका लागि ठूलो विकास हो,’ उनले भने, ‘अब नदीमा पानी बढ्दा लोमान्थाङ पुग्नबाट रोकिन्न।’ Nagarik News