भिम मावीद्धारा आर्थिक संकलन अभियान सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २५ चैत । म्याग्दीको देविस्थान ३ राजदाङमा रहेको भिम माविले स्वर्ण जयन्तीको अवसरमा चन्दा संकलन अभियान सुरु गरेको छ ।

विद्यालय स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा स्वर्ण जयन्तीको साथै विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आर्थिक स्रोत जुटाउन अभियान सञ्चालन गरेको हो । आगामी बैशाख ६ गतेदेखि सुरु हुने स्वर्णजयन्तीको तयारीका बारेमा जानकारी दिन बिहीबार बेनीमा आयोजित पत्रकार भेटघाटमा प्रअ डम्मरबहादुर घर्तीले एक वर्षे चन्दा संकलन अभियान सुरु गरेको बताउनुभयो ।DSC02492

पुस्तकालय स्थापना गरि व्यवस्थित रुपमा सञ्चालन गर्ने, कम्प्युटर ल्याब स्थापना गर्ने, बालबिकास केन्द्रलाई ब्यवस्थित र सुबिधासम्पन्न बनाउने, विद्यालय परिसर घेराउ गर्ने र प्राबिधिक शिक्षालय स्थापनाका लागि जग्गा खरिद गरि भवन लगायतका पुर्वाधार तयार गर्न आर्थिक स्रोत जुटाउन अभियान सञ्चालन गरेको प्रअ घर्तीले जानकारी दिनुभयो ।

विद्यालयको वेभसाईट र सामाजिक सञ्चालको प्रयोग गरेर देशभित्र र बाहीर रहेका देविस्थानका बासिन्दा एवं पुर्व विद्यार्थी, शुभचिन्तकहरुबाट नगद संकलन गरेर न्युनतम एक करोडको कोष स्थापना गर्ने लक्ष्य राखिएको छ । प्रभु विकास बैंकमा रहेको विद्यालयको खातामा चन्दा सहयोग जम्मा गर्नेको नामावली वेभसाईट र सामाजिक सञ्जाल मार्फत सार्वजनीक गर्ने ब्यवस्था मिलाइएको छ ।

बेलायतमा देविस्थान मैत्री संघ मार्फत अभियान सञ्चालन भएको छ । जापान, कतार, साउदी, राजधानी काठमाडौ, पोखरा, सदरमुकाम बेनी, दरवाङ प्रचारप्रसार र चन्दा संकलनका लागि समिति गठन गरिएको छ । ५७ वर्षअघि वि.स २०१६ सालमा स्थापना भएको भिम माविले बैशाख ६ देदि १३ गतेसम्म विभिन्न कार्यक्रम गरेर स्वर्ण जयन्ती मनाउदैछ । स्वर्ण जयन्ती सफल बनाउन विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर पुनको अध्यक्षतामा मुल समारोह समिति गठन गरेर तयारी तिब्र पारिएको छ ।

वि.स २०३७ मा निमावी र २०५२ मा मावि तहको पठनपाठन सुरु गरेको उक्त विद्यालयको स्वर्ण जयन्तीको अवसरमा जिल्ला स्तरीय अन्तर मावि छात्र फुटबल, छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको छ । म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले उद्घाटन गर्नुहुने स्वर्ण जयन्तीमा पुरुषोत्तम न्यौपाने, जानकी तरामी मगर, कुमार पुन, निसा गुरुङ लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुतीका साथै नृत्य प्रतियोगिता हुने भएको छ । स्वर्णजयन्ती समारोह सम्पन्न गर्न आठ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।