म्याग्दी जिविसमा – दोहोरो सुबिधा खोज्ने कर्मचारीलाई कडाई

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २५ चैत ।
जिल्ला विकास समितिको कार्यालय म्याग्दीले दोहोरो सुबिधा दावी गर्ने कर्मचारीलाई कडाई गरेको छ ।

विषयगत कार्यालय, परियोजना र संघ संस्थाको खर्चमा उनिहरुको कार्यक्रममा सहभागि हुन जाने कर्मचारीले कार्यालयबाट पनि भ्रमणभत्ताको दावी गर्न थालेपछि कडाई गरिएको हो । दोहोरो सुबिधा लिने प्रवृतीलाई नियन्त्रण गर्न जिविसले आधिकारीक पत्र बिना आफ्ना कर्मचारीलाई कुनै पनि कार्यक्रममा सहभागि नगराउन पत्राचार गरेको छ ।gbsकार्यालयमा जानकारीनै नगराईकन एनजिओ, आईएनजिओ, विषयगत कार्यालयको कार्यक्रममा सहभागि हुन जाने, उनिहरुबाट सुबिधा लिने र कार्यालयबाट पनि दैनिक भ्रमणभत्ता दावी गर्ने प्रवृती समस्याको रुपमा देखिएपछि नियन्त्रणका लागि बाध्य भएर पत्राचार गरेको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो ।

यसै महिनाको पहिलो हप्ता जिविसले म्याग्दीका सबै विषयगत कार्यालय, गैरसरकारी संघ संस्था, परियोजनाहरुलाई कार्यालयको प्रतिनिधित्व गराउँदा पत्रमार्फत पुर्वजानकारी गराउन र आधिकारीक पत्रबिना कुनै पनि कर्मचारीलाई सहभागी नगराउन आग्रह गरेको छ । संघ संस्था र विषयगत कार्यालयहरुले पनि कार्यालयलाई जानकारी नगराइकन आफूलाई मनपरेको कर्मचारीलाई कार्यक्रममा सहभागि हुन बोलाउने गरेको देखिएको छ ।

कर्मचारीले विभिन्न बाहना बनाएर कार्यालयमा नबस्दा प्राबिधिक र प्रशासनीक, सेवा प्रवाह प्रभावित हुने, ढिलासुस्ती हुने तथा दोहोरो सुबिधाका कारण राज्यको स्रोत दुरुपयोग भएको छ ।
कतिपय कर्मचारीले घरायसी काम र बिरामी भएको बाहना बनाएर एनजिओका कार्यक्रम, विषयगत कार्यालयको तालीम र बैठकमा सहभागि हुने गरेको स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो । जिविसको यस्तो निर्णयपछि कर्मचारीहरु कार्यालयमै बसेर काम गर्ने वातावरण बन्न थालेको छ ।

ढिलासुस्ती भएको गुनासो कम भएको जनाइएको छ । यद्यपी प्राबिधिक कर्मचारीहरुले भनेको समयमा सर्वेक्षण, नक्साङ्कन् र मूल्याङ्कनको काम नगरेको भन्ने गुनासो भने कम भएको छैन् । जिविसमा रोगको रुपमा रहेको ‘शौचालय गएर आउ भन्दा पनि टिएडीए दावी गर्ने’ प्रवृतीलाई निरुत्साहीत गर्न सरोकारवाला पक्षहरुको पनि सहयोगको अपेक्षा गरेको जिविसको उच्च स्रोतले बताएको छ ।