सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २२ चैत ।
म्याग्दी सदरमुकाम बेनीका अधिकांश तरकारी तथा फलफुल पसल प्रक्रिया पुरा नगरी सञ्चालन भएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सोमबार बजार अनुगमन गर्ने क्रममा दर्ता भएका भन्दा प्रक्रिया नपु¥याईकन दर्तै नगरी सञ्चालन भएका तरकारी पसलको संख्या बढी रहेको भेटिएको हो । घरेलु तथा साना उद्योग विकास समिति र आन्तरीक राजस्व कार्यालयमा दर्ता भएर ब्यवसाय गर्नुपर्ने नितीगत ब्यवस्था भएपनि बेनीका ब्यवसायीले कार्यान्वयन गरेका छैनन् ।
तरकारी पसल दर्ता बिनै सञ्चालन हुँदा एकातर्फ राज्यलाई लाखौ राजस्व घाटा भएको छ भने नियमन गर्न पनि समस्या देखिएको छ । ११ वटा तरकारी तथा फलफुल पसलको अनुगमन गर्दा तिन वटा मात्रै दर्ता भएको भेटिएको अनुगमन टोलीका संयोजक सहायक प्रजिअ यादवनाथ आचार्यले जानकारी दिनुभयो ।
अनुगमन टोलीमा जिविस, कृषि विकास, प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ र पत्रकारहरुको सहभागिता रहेको थियो । दर्ताबिनै बषौदेखि सञ्चालन भैरहेका तरकारी तथा फलफुल पसलहरुले मूल्य सूची पनि नराखेको पाइएको छ ।
यस्तै केही पसलमा कुहीएका तरकारी र फलफुल बिक्रीका लागि राखेको भेटिएको थियो । न्युरोडका तरकारी तथा फलफुल ब्यवसायी कमल पौडेलले आफूले हालसालै मात्रै ब्यपार सुरु गरेको बताउँदै छिट्टै कानुनी प्रक्रिया पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
धेरै जसो तरकारी पसल सञ्चालकहरुलाई यसअघिका अनुगमनका क्रममा पनि दर्ता गर्न निर्देशन दिएपनि अटेर गरेर सरकारी निकायलाई चुनौती दिएका छन् । दर्ता नभएका पसललाई कानुनी प्रक्रिया पुरा गर्न, मूल्य सूची राख्न र सरसफाईमा ध्यान दिन निर्देशन दिइएको सहायक प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
यसैगरी उक्त टोलीले सोमबारनै बेनीका विभिन्न स्थानमा रहेका ११ वटा ग्याँस बिक्री स्थलको पनि अनुगमन गरेको छ । ग्याँस बिक्रेतालाई एउटै उपभोक्तालाई दोहोराएर ग्याँस बिक्री नगर्न र ग्यास बिक्री गरेको विवरण उद्योग वाणिज्य संघ मार्फत प्रशासनलाई उपलब्ध गराउन निर्देशन दिएको सहायक प्रजिअ आचार्यले बताउनुभयो ।