सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,चैत २२ गते ।
अवसर पाएमा नेतृत्वका लागि महिलाहरु पनि सक्षम छन भन्ने उदाहरण म्याग्दीका महिलाले प्रस्तुत गरेका छन् । सामाजिक संघ संस्था, उपभोक्ता समिति, सहकारी संस्था, वन, कृषि, आमा समूहको नेतृत्व गरेका महिलाहरुले अवसर पाएमा नेतृत्वका लागि पुरुष भन्दा कम छैनन् भन्ने उदाहरण प्रस्तुत गरेका हुन् । म्याग्दीको विभिन्न ठाउँमा महिलाको नेतृत्वमा सफल रुपमा विकास निर्माण, विकृती न्युनीकरणसंगै आर्थिक, सामाजिक परिवर्तनका काम भएका छन् । कतिपय ठाउँमा पुरुषलेनै महिलालाई नेतृत्व हस्तान्तरण गरेका छन भने केही ठाउँमा महिला अग्रसर भएर नेतृत्वमा पुगेका छन् ।
विगत एक वर्षदेखि दोवा गाविसको अध्यक्षको रुपमा नेतृत्व गर्दै आएकी ६२ वर्षिया कमाया पुर्जा परिवारको साथ र समुदायको सहयोग पाउने हो भने महिलालाई सामाजिक काम गर्न अप्ठ्यारो नपर्ने अनुभव सुनाउँछिन । स्थानीय निकायको रित्तताको पुर्ती गर्न गाउँलेले चुनेका गाविस अध्यक्ष दुतबहादुर राम्जालीले राजीनामा दिएपछि उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकीभएकी कमाया अहिले अध्यक्षको भुमिकामा सक्रिय छिन ।
वि.स २०५६ सालको निर्वाचनमा दोवाको ५ नम्बर वडाको अध्यक्षमा निर्वाचित कमायासंग जनप्रतिनिधि र ७ वर्ष गाविस उपाध्यक्षको रुपमा काम गरेको अनुभव छ । २५६ घरधुरीको बसोबास रहेको दोवाको ९ वटै वडामा पनि अध्यक्षहरु चुनिएका छन् । ७ नम्बर वडाको अध्यक्षको जिम्मेवारी सुमीत्रा गर्बुजाले पाएकी छिन ।
आमभेलामा महिलाहरुलाई पनि नेतृत्वमा पुग्ने अवसर दिनुपर्छ भन्ने निर्णय गरी सर्वसम्मत रुपमा गाविस र वडाको अध्यक्षमा निर्वाचित कमाया र सुमीत्रालाई पुरुष वडा अध्यक्ष एवं गाउँलेले राम्रो साथ दिएका छन् । १७ वर्ष ४ महिनासम्म स्थानीय हातेमालो आमा समूहको अध्यक्ष भएकी कमायाको नेतृत्वमा गत वर्ष दोवामा ढल निकासका लागि नाली र नजिकैको खोल्सामा कजवे पुल निर्माण भएको थियो ।
यस वर्ष गाउँलाई सरसफाईयुक्त बनाउने अभियानमा जुटेकी कमाया भन्छिन ‘सामुदायिक एकता, हाम्रो क्रियाशिलता र पुरुषको सहयोगले यो सम्भव भएको हो ।’ अधिकांश पुरुष रोजगारीका लागि बिदेशीएको दोवामा हुने विकास निर्माणको काम देखि भेला, छलफल, बैठकहरुमा पनि महिलाहरुकै बढी सहभागिता हुने गर्छ ।
यसै वर्षदेखि सामुहिक च्याउ खेती सुरु गरेर आयआर्जनतर्फ अग्रसर भएका दोवाका महिलाहरु आवद्ध हातेमालो आमा समूहले बिकृती न्युनीकरण गरि सामाजिक सुरक्षा कायम गर्न प्रभावकारी भुमिका खेलेको छ । आमा समूहले तिन वर्षअघि दोवामा साँझ ५ बजेपछि मदिरा बेच्ने र सेवन गर्नेलाई तिन हजार रुपैयाँ जरिवाना तिराउने नियम लागू गरेको थियो ।
जरिवाना तिराउन थालेपछि मदिराको अव्यवस्थित बिक्री वितरण नियन्त्रण भई समाजलाई शान्त बनाउन, युवायुवतीलाई बिकृतीबाट बचाउन र महिला हिंसा न्युनीकरण गर्न सहयोग पुगेको हातेमालो आमा समूहकी सचिव बोमाया गर्बुजाले बताइन । उनका अनुसार जरिवाना वापत संकलन भएको रकम गाउँको विकास निर्माण र महिलाहरुको आयआर्जन वृद्धीका लागि परिचालन गरिएको छ ।
आमा समूहको नेतृत्वमा विभिन्न संघ संस्था, निकाय र स्थानीयको १४ लाख १५ हजार रुपैयाँको लगानीमा दोवामा सामुदायीक भवन पनि निर्माण भएको छ । सभाहल सहितको उक्त भवन निर्माण भएपछि तालीम, गोष्ठि र भेला छलफल गर्न सहज भएको छ । उनिहरुले बिवाह, छेवार, किरीयाको भोजमा समूहको भाडाकुँडा र फर्नीचरलाई भाडामा लगाउँछन् । भाडावापत प्राप्त हुने रकम समूहको कोषमा जम्मा गर्ने गरिएको सचिव गर्बुजाले जानकारी दिइन ।
महिलाहरुको सक्रियता र गाउँलेको एकताका कारण सरकारी तथा गैरसरकारी संघ संस्थाले सञ्चालन गर्ने विकास योजना एवं कार्यक्रम कार्यान्वयनमा सहयोग पुगेको छ । जनसहभागिता जुटाउने, समुदाय स्तरमा उत्पन्न बिवाद समाधान र सार्वजनीक सेवा प्रवाहलाई सहज बनाउन सहयोग पुगेको दोवा गाविसका सचिव लिलाबहादुर चोखालले बताए ।
दोवामा मात्र होइन् म्याग्दीका अन्य गाविसका महिलाहरु पनि सामाजिक काम संगै विकास आयोजनाहरुको नेतृत्व गरेर सफल भएका उदाहरण छन् । अन्यको तुलनामा मगर समुदायको बसोबास रहेको बस्तीका महिलाहरु नेतृत्वमा अगाडी छन् । उत्तरी म्याग्दीको राम्चे गाविसको १ र २ नम्बर वडा पर्ने नांगी गाउँका महिलाहरुको नेतृत्वमा गत वर्ष पुर्वअनुमान गरेभन्दा कम लागत र निर्धारीत समय भन्दा अघिनै खानेपानी आयोजना निर्माण भएको थियो ।
खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय म्याग्दी मार्फत सञ्चालित आयोजनाहरु मध्य नांगीमा पहिलो पटक महिलाहरुको मात्र सहभागिता रहेको उपभोक्ता समिति मार्फत आयोजना निर्माण भएको हो । राममाया पुन अध्यक्ष रहेको ११ सदस्यीय उक्त उपभोक्ता समितिको पदाधीकारी र सदस्यहरु सबै महिला थिए । उनिहरुले जिल्लामै पहिलो पटक नांगी गाउँमा एक घर, एक धाराको अवधारण अनुसारको खानेपानी आयोजना निर्माण गरेका हुन् ।
५८ लाख रुपैयाँमा २०७२ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको योजनाबाट उपभोक्ता समितिको सक्रियताका कारण तिन महिना पहिलेनै सम्पन्न भएकोे खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय म्याग्दीका प्रमुख ईञ्जिनियर शेखरचन्द्र केसीले बताए । कार्यालयले ३२ लाख रुपैयाँ सहयोग गरेको योजना निर्माण गर्न उपभोक्ताहरुको २० प्रतिशत सहभागिता रहेको थियो ।
अध्यक्ष पुनका अनुसार गाउँका ८० घरधुरीले ५ दिन श्रमदान गरेको योजनाका लागि समितिका पदाधीकारी तथा सदस्यहरुले १६० दिनको समय र श्रम उपलब्ध गराएका थिए । योजनाको स्थानीय स्तरमा जनसहभागिता जुटाउने देखि जिल्ला स्तरमा समन्वय गर्ने लगायतका सबै कामको नेतृत्व महिलाबाटै भएको थियो ।
ग्रामिण क्षेत्रका महिलाहरुको नेतृत्व तथा क्षमत्ता विकासमा आमा समूहहरुको निकै महत्वपूर्ण भुमिका रहेको छ । आमा समूहको नेतृत्व गरेका महिलाहरु पछिल्लो समय राजनितिक दल, उपभोक्ता समिति र अन्य संस्था संस्थाको नेतृत्व र पदाधीकारीमा पुग्न सफल भएका छन् । आमा समूहले बिशेष गरेर सामाजिक सद्भाव कायम गर्ने, घरेलु हिंसा, मदिरा सेवनको कारण हुने विकृती न्युनीकरणका साथै परम्परागत कला, संस्कृती संरक्षणमा योगदान गरेका छन् ।
यसैगरी महिला विकास सहकारीहरु पनि महिलाको क्षमत्ता र नेतृत्व विकासमा सहयोगी बनेका छन् । म्याग्दीमा करिब ५० वटा सहकारी संस्थाहरु महिलाहरुले नेतृत्व गरेर सञ्चालन गरेका छन् । महिलाहरुलाई बचतमा सहभागि गराउने र बिना धितो सामुहिक जमानीको आधारमा कर्जा प्रवाह गरेर आयआर्जनमुलक गतिबिधि गर्न सघाएका महिला सहकारीहरुको सञ्चालक र कर्मचारीहरु पनि महिलानै हुने गरेका छन् ।
शिक्षा र चेतनाको विकास, विभिन्न समूह, समितिहरुमा आवद्ध हुने, तालीम प्राप्त गर्न थालेपछि महिलाहरुको नेतृत्व क्षमत्ता विकास भई सामाजिक क्षेत्रमा सहभागिता जनाउन थालेको पात्लेखेतकी मञ्जु रकाल शाहीले बताइन । लोकतन्त्र स्थापना भएपछि राज्यले लिएको समावेशी, समानुपातीक र सहभागीता मुलक नीतिका कारण महिलाहरुले नेतृत्व तहमा पुग्ने अवसर पाएको सरोकारवालाहरु बताउँछन् ।
‘कुनै समय घरधन्दा, चुलोचौका, खेती किसानीमा सिमित महिलाहरु अवसर पाएमा आफ्नो जिम्मेवारी र दायीत्व पुरा गर्न सक्षम छन भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएका छन्’ झिँ गाविसकी सचिव तेजकुमारी थापाले भनिन ‘समावेशी र समानुपातीक नीतिले महिलाहरुलाई अगाडी ल्याउन महत्वपूर्ण भुमिका खेलेको छ ।’ उनका अनुसार म्याग्दीका ग्रामिण क्षेत्रका महिलाहरु नेतृत्व तहमा पुग्नुको अर्को कारण हो बैदेशिक रोजगारीका लागि अधिकांश पुरुषहरु बिदेशीनु ।
गाउँको नेतृत्व गर्दै आएका युवा तथा पुरुषहरु बिदेशीएपछि गाउँ विकासको जिम्मेवारी छोरी बुहारी र आमाहरुको नेतृत्वमा पुग्न थालेको थापाले बताइन । भेला, बैठक र सामाजिक काममा संलग्न हुनका लागि बिहान छिटो उठेर अथवा साँझ अबेरसम्म भएपनि घरको आफ्नो जिम्मेवारी पुरा गर्नेगरेको अगुवा महिलाहरुले बताएका छन् । संघ संस्था, समूह र उपभोक्ता समितिमा आवद्ध महिलाहरु घरायसी र पारीवारीक ब्यवस्थापन गर्न सकेमा मात्रै सफल हुन सकिने अनुभव सुनाउँछन् ।
नेतृत्व गर्न सक्षम भएपनि पारिवारीक, सामाजिक र राजनितिक रुपमा अझै अनुकुल वातावरण बन्न नसकेको देविस्थानकी अगुवा महिला पिपला बुढाथोकीले बताइन । बुढाथोकी अध्यक्ष रहेको सहकारी संस्था मार्फत गत वर्ष देविस्थानमा सिचाई आयोजना निर्माण भएको थियो । ‘कतिपय ठाउँमा अझै पुरुषहरुले महिलाले गर्न लागेको काममा साथ नदिने र बेवास्ता गर्छन्’ बुढाथोकीले भनिन ‘सामाजिक तथा विकास गतिबिधिमा बढ्न थालेको महिलाहरुको सहभागितालाई अर्थपूर्ण बनाउन जरुरी देखिन्छ ।’ नवविकल्प साप्ताहिकको अंक २८ मा प्रकाशित