सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,चैत २२ गते ।
जिविस म्याग्दीले जिल्लाका गौरवको आयोजना पहिचान गर्ने भएको छ । जिल्ला विकास समितिले २४ औ जिल्ला परिषद्बाट जिल्लाका गौरवका आयोजनाहरु पहिचान गर्ने निर्णय गरेको थियो ।
निर्णय कार्यान्वयनका लागि जिविसले म्याग्दीको समग्र विकासमा बहुउपयोगी मानिने आयोजनाहरु पहिचान गर्ने गृहकार्य सुरु गरेको छ । जिल्लाका गौरवका आयोजना पहिचान गरि योजना सञ्चालनमा प्राथमिकता दिन सकेमा समग्र विकासमा कोशेढुङ्गा सावित हुने स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले बताए ।
उनका अनुसार पहिलो चरणमा जिविसले सञ्चालन गर्ने चार वटा आयोजनालाई गौरवका रुपमा प्रस्ताव गरिएको छ । दरवाङदेखि लामेला तमान हुदै मध्यपहाडी लोकमार्गको बुर्तीबाङबाट ढोरपाटन जोड्ने, दरवाङ देखि जलजला हुदै ढोरपाटन जोड्ने र दरवाङ–बिम–मराङ–मल्कवाङ–पाखापानी र बेग–चिमखोला–कुईनेमंगले हुदै मल्कवाङ जोड्ने सडकलाई जिल्लाको गौरवका रुपमा प्रस्ताव गरिएको स्थानीय विकास अधिकारी पौडेलले बताए ।
जिल्लाका गौरवका आयोजनामा बजेट बिनियोजन र योजना कार्यान्वयनका क्रममा तिब्रता र प्राथमिकता दिएर अन्य विकास तथा सामाजिक गतिबिधिमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । प्रस्तावीत जिल्लाका गौरवका आयोजनाहरुबाट ग्रामिण क्षेत्रमा बस्ती विकास, बजारीकरण र स्थानीय उत्पादनको ढुवानीमा सघाउ पुग्नुका साथै धेरै बस्तीका बासिन्दालाई हरेक हिसावले सुबिधा पुग्ने स्थानीय विकास अधिकारी पौडेलको भनाई छ ।
कृषि उत्पादन वृद्धी, रोजगारी सिर्जना, बसाईसराई नियन्त्रण, दैनिक जनजिवनमा सहज र आर्थिक क्रियाकलाप बढाउन गौरवका योजनाले सघाउने अपेक्षा गरिएको छ । अहिले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राहुघाट जलविद्युत आयोजना र कालीगण्डकी करिडोर अन्तरगत बेनी–जोमसोम सडक रहेका छन् । यसैगरी जिल्ला स्तरमा बेनी–पाखापानी सडक आयोजना जिविसले सञ्चालन गर्ने प्र्राथमिकता प्राप्त आयोजना हो ।
धेरै योजनालाई बजेट छरेर भन्दा बजेट केन्द्रिकृत गरेर प्राथमिकता प्राप्त बहुउपयोगी आयोजना सञ्चालन गर्न सकेमा जिल्लाको समग्र विकासमा टेवा मिल्ने म्याग्दीका निर्वाचित सांसद नवराज शर्माले बताए । गौरवका आयोजनालाई बजेट बिनियोजनका लागि पहल गरिएको गर्ने उनले बताए ।