सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २१ चैत ।
म्याग्दीको बेनीमा खाजा खाने बाहना बनाएर चोरी गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरि आईतबार सार्वजनीक गरेको छ ।
चैत १ गते भएको चोरीको घटनामा संलग्न दाङको घोराही नगरपालीका १० घर भई हाल पोखरा ४ बस्ने १७ वषिया देविका पुन, स्याङ्जा मनकामना ३ का ४५ वर्षिया जुद्धविर कामी र लेखनाथ नगरपालीका १८ का ४० वर्षिय पदम बिकलाई जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनीक गरेको हो ।
जुद्धविर र पदमको योजनामा परिचालन भएकी देविकाले बेनीका ब्यवसायी कुलदिप जुक्जालीलाई बेनीकै पुन होटलमा खाजा खान बोलाएर पेय पदार्थमा लठ्याउने औषधि खुवाई जुक्जालीको साथमा रहेको साढे नौ तोला सुनका गहना, मोवाईल र नगद आठ हजार रुपैया चोरी गरेकी थिईन् ।
चोरी गरेपछि होटलको पहिलो तलाको झ्यालबाट फरालेर भाग्ने क्रममा दुई वटै खुट्टा फ्याक्चर भएपछि पोखराको एक अस्पतालमा उपचार गराइरहेकी देविकाले बेनीबाट पोखरा जाने क्रममा ट्याक्सीमा खसालेको मोवाईलको आधारमा प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो । देविकाको बयानको आधारमा अन्य दुई जनालाई पनि चैत १८ गते पोखराबाटै पक्राउ गरेर बेनी ल्याइएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
थप अनुसन्धान गरि उनिहरु बिरुद्ध जिल्ला अदालतमा चोरी मुद्दा दर्ता गराउने तयारी भएको छ । प्रहरीका अनुसार मल्लाजमा ईटा बनाउने काम गर्दै आएका जुद्धविर यसअघि म्याग्दीको भकिम्लीमा भएको सुनचोरीमा संलग्न भएको थिए । उनले प्रहरी समक्ष बयानका क्रममा स्याङ्जामा सवारी चालकलाई पनि लठ्याउने औषधि खुवाएर सुन चोरी गरेको बताएका छन् ।