गाउँ तथा नगर अधिवेशनमा भिडेका कांग्रेसका दुवै पक्ष प्रदेश क्षेत्रमा आउँदा युद्धविराम !

विकल्प डेस्क / बेनी
कात्तिक २९ गते गते ।

असोजको पहिलो हप्ता सम्पन्न नेपाली काँग्रेसको स्थानीय तहका गाउँ तथा नगरपालिका अधिवेशनमा दुवै पक्ष एकआपसमा भिडे । अन्य पालिकामा सहमतिबाट नेतृत्व चयन भएपनि अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिका अधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन नभएपछि निर्वाचनबाट टुंगाइएको थियो । यी दुई पालिकामा बर्तमान पार्टी सभापति खम्बीर गर्बुजा र निवर्तमान सभापति तथा संविधानसभा सदस्य रेशम बानीयाँ पक्ष आ– आफ्नै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । नेतृत्व चयन गर्दा गरिएको मतदानमा यी दुवै स्थानमा सभापति गर्बुजा पक्षधर विजयी भएका थिए ।

बेनी नगरको अधिवेशनलाई दुवै पक्षले महत्वका साथ हेरेका थिए । सभापति सहित पदाधिकारीमा छुटाछुट्ै प्यानल खडा गरिएको थियो । वाहिरी आँखाले हेर्दा फरक पार्टीका विच हुन लागेको निर्वाचनको झल्को देखिन्थ्यो । आ–आफ्नो प्यानललाई जिताउन सवैतिरको शक्ति प्रयोग गरिएको थियो ।

हुनत पछिल्लो केही समय यता काँग्रेस म्याग्दीमा चरम गुटबन्दी मौलाएको छ । जिल्लामा गर्बुजा र बानियाँ पक्षमा नेता तथा कार्यकर्ताहरु विभाजित छन् । एकपक्षले अर्को पक्षलाई निषेधको राजनीति गरिरहेका छन् । आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न र पदका लागि कार्यकर्ताले पनि गुट अदलबदल गरेका छन् । बानियाँ पक्षमा खुलेर लागेका युवा नेता ओम छन्त्याल प्रदेश क को क्षेत्रीय सभापति पाउन गर्बुजा गुटमा पुगे ।

मंसिर १ गते जिल्ला अधिवेशन हुँदै छ । अधिवेशनको पूर्व सन्ध्यामा भएका दुई प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरे । गर्बुजा र बानियाँ पक्षले एकआपसमा लेनदेन गरेर क्षेत्रीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेका छन् । पालिका र नगरमा भिडेका दुवै पक्ष प्रदेश क्षेत्रमा आउँदा उनीहरुका विच युद्धविराम भएको काँग्रेसजनहरु बताउँछन् । यसको संकेत जिल्ला अधिवेशन पनि सर्वसम्मत रुपमा टुङ्गीने आशा कांग्रेस कार्यकर्ताहरुको छ ।

सहमतिबाट नै आगमी नेतृत्व चयन गर्न विभिन्न तहमा वैठक र वार्ता भएका छन् । तर दवै पक्षले भित्री रुपमा निर्वाचनको तयारी थालेका छन् । वाहिरी रुपमा सहमति भनेपनि भित्री रुपमा निर्वाचनको तयारी छ ।

वर्तमान सभापति गर्बुजा पुनः सभापतिमा दोहोरिने रणनीतिमा छन् । भने निवर्तमान सभापति बानियाँ जसरी पनि गर्बुजालाई रोक्न प्रयासरत छन् । गर्बुजा र बानियाँ विच एकआपसमा आगमी राजनीतिक पदका वारेमा भरपर्दो रुपमा लेनदेन भएमात्र प्रदेश क्षेत्रमा भएको युद्धविराम जिल्ला अधिवेशनमा पनि कायमरहन सक्छ । नत्र दुवै पक्ष निर्वाचनकै बाटोमा पुग्ने देखिन्छ ।

आगमी प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसले गर्बुजालाई बलियो उम्मेदवारका रुपमा लिएको छ । यो कुरा मान्न बानियाँ पक्षधर पनि सहमत छन् । तर पार्टी सत्ताको नेतृत्व गर्बुजाले छाड्नुपर्ने सर्त तेर्साइएको छ । यता पार्टी नेतृत्व छाड्दा भोली टिकटका लागि वातावरण कमजोर हुनसक्ने बुझाईमा गर्बुजा पक्षधर छन् ।

पार्टी सभापति हात लागेपछि टिकटका लागि बलियो हुने दाउमा बानियाँ छन् । अवको ६ /७ महिना भित्रनै स्थानीय तहको निर्वाचन र डेढवर्ष भित्र संघ र प्रदेशको निर्वाचन हुँदै छ । निर्वाचन नजिकिदै गरेकाले पनि पार्टी सत्ताको नेतृत्व लिन दुवै पक्षको कसरत छ । प्रदेशमा भएको युद्धविराम अव जिल्ला अधिवेशनमा कायम होला वा नहोला यो हेर्न मंसिर १ गते नै पर्खनुपर्ने देखिन्छ ।